धरान : हाल धरान वडा नं २० मा पर्ने माछामारा डाँडामा भूपू ब्रिटिश गोर्खा सैनिकहरुले पुर्खाहरुको स्मृतिमा गोर्खा स्मृति पार्क बनाइरहेका छन् । उक्त पार्क भित्र मैचुङ्छा पाखा छ । जहाँ एउटा पक्की चौतारीमा लेखिएको हरफहरु यस्तो छः
"डाँडापारी पुग्यो घाम, घटीसके दौंतरी
आफ्नै हातले बनायौं, हाम्रो नाममा चौतारी
कसको हो यो चौतारी, सोधे भने कसैले
बेलायतबाट फर्केपछि उत्तर दिन्छ हाम्रो नातीले ।"
यो चौतारी २०६६ सालमा बनेको हो । चौतारीको निर्माता र यी हरफहरुको सर्जन हुन् भुपु सार्जेन्ट ७४ बर्षीय रमेश राई । उनले सृर्जना गरेको यी हरफहरु मात्र उनको भावना होइन, ती भूपू ब्रिटिश लाहुरेहरुको भावनालाई प्रस्तुत गरेको छ, जसले बेलायत जाने सुनौलो अवसरलाई पनि माया मागरेर आफ्नै गाउँ घरमा बसेका छन् ।
त्यति मात्र होइन, यी हरफहरुले भूपू लाहुरेको शहर भनिने गरेको धरान अब लाहुरेविहिन शहरमा परिणत हुदै गएको वास्तविकतालाई पनि चित्रण गरेको छ । ‘यो मेरो आफ्नै वास्तविक पीडा हो, अनि मजस्ता थुप्रै वृद्ध भूपू लाहुरेहरुको पीडा हो । धरानको यथार्थ पनि हो,’ रमेश मामाको नाउले चर्चित उनी भन्छन् । धरान ८ स्थित घरमा उनी र श्रीमति मात्र छन् । मेरो छोरा, बुहारी र नातानातिनाहरु सबै बेलायततिर छन् ।
धरान लाहुरेहरुको सघन बसोबास भएको पुर्वको सुन्दर आवासिय शहर हो । २०४५ सालको भुकम्पले खण्डहर बनेको धरानलाई आधुनिकीकरण गर्न र विकासमा अघि बढाउन भूपू ब्रिटिश लाहुरेहरुको ठुलो योगदान छ । तत्कालीन स्थानीय निकाय(धरान नगरपालिका)ले विकासमा जनसहभागीताको अवधारणा ल्याउदा भूपू लाहुरेहरुले पैसा लगानी मात्र गरेनन्, आफै नेतृत्व लिएर घर,कम्पाउण्ड भत्काएर सडकलाई जग्गासमेत दिए । चिल्ला सडक र आकर्षक फुलबारीसहितको चिटिक्कको घरले धरान युरोपको कुनै शहर झै बन्यो । पेन्सनवापत आउने रेमिट्यान्सले धरानको अर्थतन्त्रलाई माथि उकास्यो । अहिले तिनै लाहुरेहरुलाई खोज्दा धरानमा हत्तपत्त भेटिदैनन् । ‘धेरै भूपूहरु बेलायत गइसकेका छन्, नयाँ भर्ती लाग्ने भाञ्जाहरु पनि परिवारसहित उतै बस्छन्,’चिन्तित हुदै भूपू सार्जेन्ट राई भन्छन्,‘यस्तै हो भने धरान लाहुरेविहिन शहरमा परिणत हुन्छ ।’
नेपालका युवाहरु बेलायती सेनामा भर्ती हुन थालेको २ सय बर्षको इतिहास छ । पहिलो र दोस्रो विश्वयुद्धमा लाखांै नेपाली युवाहरु बेलायतकोतर्फबाट युद्ध लडे । कति वेपत्ता भए, कति मरे भन्ने यकिन तथ्यांक छैन । तर, धरानमा वि.स.२०१० सालमा ब्रिटिश गोर्खा सैनिक कार्यालय(भर्ती केन्द्र) स्थापना भएपछि धरान र लाहुरेबीचको सम्बन्ध गाँसिएको थियो । अवकाश पाएपछि पुर्वी पहाडी क्षेत्रका भूपू लाहुरेहरुले पहाड र तराईको संगम रहेको धरानलाई स्थायी बसोबासकोरुपमा रोजे । बेलायतको पक्षमा ठुलठुला युद्धहरु लडे पनि गोर्खा लाहुरेहरुले समान तलब पाउदैनथे । त्यसविरुद्ध समानता, हकअधिकारको आन्दोलन धरानबाट भूपू लाहुरेहरुले चर्काएका थिए । त्यही आन्दोलनको दबाब थेग्न नसकेर बेलायती सरकारले भूपू लाहुरेहरुलाई आवासिय भिषा उपलब्ध गराउने निर्णय गर्यो । यो निर्णयले सन् २००८ तिरबाट भूपू लाहुरेहरु बेलायत भासिन थाले । ‘भूपू सैनिकहरुको हकअधिकार, समानताको आन्दोलन आवासिय भिषामा पुगेर टुंगिनु विडम्बना भयो । त्यसपछि त गाउँघरमा बचेखुचेका भूपूहरु पनि बेलायत पुगिसकेका छन्,’ब्रिटिश गोर्खा भूपू सैनिक एकता समाजका अध्यक्ष एवं सामाजिक अभियन्ता गजेन्द्र इस्वो भन्छन्,‘अब त हातखुट्टा बसिसकेका, अपांग अशक्तहरु मात्र पो बाँकी छन् ।’
अभियन्ता इस्वोका अनुसार धरानमा १० हजारको हाराहारीमा भूपू ब्रिटिश लाहुरेहरुको बसोबास भएको अनुमान थियो । आवासिय भिषाले गर्दा ७० प्रतिशत भन्दा बढी भूपू लाहुरे र तिनका परिवारहरु आवासिय भिषामा बेलायत गइसकेका छन् । बाँकी रहेका थोरै संख्याका भूपूहरु पनि दिनदिनै वृद्धअवस्था हुदै गएको र संख्या पनि घट्दै गइरहेका छन् । भूपू लाहुरेहरुको सघन बसोबास भएको देशका अन्य शहरहरुको अवस्था पनि यस्तै हो । हुन त बेलायतमा अझै पनि समानता, हकहितको आन्दोलन सत्याग्रहको नाममा भूपूहरुले जारी राखेका छन् । बेलायत गएकाहरु फेरि फर्केर आउने मनस्थितिमा नहुने भएकोले नेपालमा भूपू गोर्खा सैनिकहरुको दोस्रो पिढीपछि लुप्त हुनेभन्दै उनी चिन्ता व्यक्त गर्छन् । ‘नयाँ भर्ती हुनेहरु पनि परिवारसँगै उतै बस्छन्, हाम्रो पुस्ताको संख्या घट्दै गइरहेको छ । लाहुरेहरुको दोस्रो पिढी नेपालमा भेटिएला जस्तो लाग्दैन,’उनी भन्छन्,‘समानता, हकहितको आन्दोलन ठिक छ, तर स्वाभिमानी वीर गोर्खालीहरु बेलायतमा पलायन हुनबाट बच्नुपर्छ भन्ने लाग्छ ।’
‘साँस्कृतिकरुपमा सकिन्छौं’
आफ्नो घरजग्गासमेत बिक्री भएर वा आफन्तलाई जिम्मा लगाएर ठुलो संख्यामा भूपू लाहुरेहरु सपरिवार बेलायत भासिएपछि साँस्कृतिकरुपमा भावी पिढीमा विचलन आउने पक्का छ । अर्थात, बेलायत गएकाहरु स्वदेश फर्कदैनन्, र तिनका छोराछोरी, नातानातिनाहरुले आफ्नो पुर्खाहरुदेखिको सँस्कार, सँस्कृतिलाई चटक्कै विर्सनेछन् । ‘साँस्कृतिकरुपमाले त सकी नै गयौं, तिनका छोराछोरी, नातानातिनाहरु अब नेपाल कहाँ आउछन् ?’भूपू सैनिक एकता समाजका अध्यक्ष इस्वो भन्छन्,‘हाम्रै नम्बरीहरु त अब नेपाल आइन्दैन होला भन्छन्, तिनका सन्तानहरु झन् के आउलान् र ? साँस्कृतिकरुपमा त भूपू गोर्खा लाहुरेहरुको पुस्ता सिद्धिन्छौं ।’