धरान : छिमेकी युवा समाजको नाममा धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा मेला लगाउने तयारी भइरहदा मेलाको विरोध पनि जारी छ ।

नेपाली कांग्रेसले मेला लगाउन दिने नगरकार्यपालिककाको निर्णय आर्थिक चलखेलमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको केही दिन नबित्दै विभिन्न राजनीतिक दल र युवा संगठनहरुले पनि मेलाको चर्को विरोध जनाएका छन् । विभिन्न ८ राजनीतिक दल एवं युवा संगठनहरुले आइतबार कार्यवाहक प्रमुख मञ्जुु भण्डारी सुवेदीलाई ज्ञापन पत्र बुझाउदै मेला लगाउने निर्णय विनासर्त फिर्ता गर्न माग गरेका छन् । मागको वेवास्ता गरे आन्दोलनको कार्यक्रमहरु गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् । संघीय लिम्बुवान मञ्च धरान, संघीय समाजवादी फोरम नेपाल, जनमुक्ति पार्टी धरान, मंगोल नेशनल अर्गनाइजेशन, किरात खम्बुवान साझा पार्टी, नेकपा माले, वाइसिएल जिल्ला कमिटिलगायतले उपमहानगरपालिकामा गएर ज्ञापन पत्र बुझाएको हो । राजनीतिक नेतृत्वसँगै युवाहरुको ठुलो टोली ज्ञापन पत्र बुझाउन गएको थियो ।

मेलाले समाजमा विकृति, विसंगति फैलाउने र युवाहरुबीचमा झगडाको बिउ रोप्ने भन्दै मेलाको स्वीकृति सुरक्षा निकायसँग समन्वय नगरी हचुवाको भरमा गरेको ज्ञापन पत्रमा उल्लेख छ । धरानको मेला विगतदेखि जहिल्यै विवादास्पद हुदै आएको भन्दै ज्ञापन पत्रमा पुर्वएमालेको भातृसंगठन युवा संघको दबाबमा मेला लगाउन दिन निर्णयप्रति गम्भीर असहमति रहेको पनि उल्लेख छ । टोलीले आइतबार नै इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा गएर सिडिओलाई पनि ज्ञापन पत्र बुझाएका थिए । त्यहाँ पनि उनीहरुले मेला लगाउने निर्णय फिर्ताको माग गरे ।

नगर कार्यपालिका बैठकले गएको बिहिबार धरान १२ स्थित छिमेकी युवा समुहलाई पब्लिक स्कुलमा रमाइलो मेला लगाउने र धरान ६ पानवरीमा ब्वाइज युनियनलाई सस्तो बजार तथा कृर्षि मेला लगाउन स्वीकृति दिने निर्णय गरेको थियो । यो निर्णय सार्वजनिक भए पछि आर्थिक प्रभाव र दबाबमा परेर विगतमा रोकिएको मेला स्वीकृति दिएको भन्दै आलोचना भइरहेको छ ।
..................................................................

अनुमति छैन, प्रहरीले सुरक्षा दिन सक्दैन : सिडिओ

सुनसरीका सिडिओ प्रेमप्रकाश उप्रेतीले पानवरीको सस्तो बजार तथा कृर्षि मेलाले मात्र जिल्ला प्रशासनबाट स्वीकृति पाएको बताए । धरान १२ पब्लिक स्कुलको मेलाबारे कुनै जानकारी नपाएको उनले प्रष्ट पारे । ‘पानवारीको सस्तो बजार तथा कृर्षि मेला लगाउने मात्र जानकारी छ, त्यहाँको अनुमति दिएका छौं । अर्को मेला जानकारी छैन । प्रहरीले पनि सुरक्षा दिन नसक्ने जानकारी गराइसकेको छ,’सिडिओ उप्रेतीले भने,‘सुरक्षाबारे स्थानीय तहले हामीसँग कुनै समन्वय गरेको छैन, प्रहरीले चाडपर्वमा मेलामा सुरक्षा दिन सकिदैन भनिसकेको छ ।’ उनले आयोजक वा अनुमति दिने निकायले सुरक्षा प्रबन्ध आफै गर्नुपर्ने पनि प्रष्ट पारे ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले मेलाले सुरक्षा चुनौती बढाउने भएकोले मेला लगाउनु ठिक नभएको बताए । चाडपर्वमा सुरक्षा थप जटिल हुने र मेलाको सुरक्षामा प्रहरी अल्मलिदा समग्र धरानको सुरक्षा चुनौती संवेदनशील हुने डिएसपी तिम्सिनाले बताए । ‘प्रहरी संख्या इटहरीको भन्दा कम छ, तर यहाँ अपराधको घटना बढी हुन्छ । मेलामा प्रहरी खटाउनुपर्दा अरुतिरको सुरक्षामा असर पुग्छ,’डिएसपीले भने,‘मोस्ट वान्टेडहरुको अनधिकृत गतिविधिहरु हुन्छ । त्यसैले गाह्रो हुन्छ भनेको छुँ ।’ मेला लगाउने भए साँझ ६ बजेसम्म मात्र लगाउन, आफ्नो सुरक्षाको प्रबन्ध गर्न, मदिरा र जुवाजन्य कुनै पनि प्रयोग हुन नदिन, प्रवेश शुल्क र राष्ट्रिय कलाकार ल्याउने वहानामा टिकट बढाउन नहुने जस्ता शान्ति सुरक्षाको लागि आयोजकलाई सुझाव दिएको पनि डिएसपी तिम्सिनाले बताए ।