धरान: प्रहरी प्रशासनको असहमति र विभिन्न दल, संगठनको चर्को विरोध, आलोचनाकोबीचमा आजदेखि धरानको पब्लिक हाइस्कुलको मैदानमा रमाइलो मेला शुरु हुदैछ ।

यसअघि कार्तिक १ गतेदेखि नै मेला शुरु हुने भनिएपनि असन्तुष्ट पक्षलाई समेट्न भन्दै मिति सारिएको थियो । चार दिन बितिसक्दा पनि मुख्य विरोधी पक्ष र प्रहरी, प्रशासनसँग कुरा नमिलेपछि आयोजक छिमेकी युवा समुहले आज दिउसो ४ बजेपछि मेलाको औपचारिक उद्घाटन गर्ने भएको हो । उद्घाटनमा प्रमुख अतिथिकोरुपमा प्रदेश १ का सभामुख प्रदिप भण्डारी ल्याउने तयारी थियो । तर, बिशेष कामले काठमाण्डौ गएपछि प्रमुख अतिथि कस्लाई बनाउने भनेर आयोजक छलफलमा छ । ‘मेलाको उद्घाटन आज ४ बजे हुदैछ, सभामुख काम बिशेषले काठमाण्डौ जानुभएकोले प्रमुख अतिथि कस्लाई बनाउने भनेर छलफल गदैछौ,’आयोजक समुहका अध्यक्ष राजेन्द्र राईले भने ।

‘धेरै डिमाण्ड गरे, अझै एड्रेस गर्ने प्रयासमा छौ’

मेला आयोजक छिमेकी युवा समुहका अध्यक्ष राईले मेलाको विरोध गर्नेहरु नै शुरुमा मेला लगाउनुपर्छ भन्दै आएको दाबी गरे । पछिल्लो समय आर्थिक डिमाण्ड भएको भन्दै उनले सकेसम्म एड्रेस गरेरै जाने बताए । ‘साढे ९ लाख र रोटेपिङको डिमाण्ड भयो, त्यत्रो हामी सक्दैनौं, तर पनि एड्रेस गरेर जाने प्रयासमा छौ,’अध्यक्ष राईले भने ।

१ करोड दिदा पनि लिन्नौंः श्री थेगिम

मेलाको तीब्र विरोध गरिरहेको मध्येका संघीय समाजवादी फोरमका युवा नेता श्री थेगिम सुब्बाले भने आफुहरुले पैसाको कुनै डिमाण्ड वा बार्गेनिङ नगरेको बताए । उल्टै मेला आयोजकहरुले पैसाको प्रलोभन देखाएर मिल्न प्रस्ताव गरेको उनको भनाई छ । ‘हाम्रो केही साथीभाईलाई १ लाख र स्टल दिन्छु भन्दै मिलाएर लगे । २, ३ जना साथीहरु गएका छन्,’श्री सुब्बाले भने,‘हाम्रो माग भनेको विकृतिजन्य मेला बन्द हुनुपर्छ भन्ने हो । मैले एक करोड दिदा पनि हुदैन भन्दिए । मेला लगाउनेहरु नै पैसा दिन्छु भनेर आउने अनि हामीलाई वद्नाम गराउन पैसा डिमाण्ड गर्यो भनेर प्रचार गराइरहेको छ ।’ उनले मंगलबारदेखि मेलाविरुद्ध कडा आन्दोलन गर्ने पनि बताए ।