धरान:सस्तो बजार तथा साँस्कृतिक उत्सव नाम दिइएको रमाइलो मेला धरान १२, पब्लिक हाईस्कुलको खेल मैदानमा शुरु भएको छ ।
प्रहरी प्रशासनको असहमति र विभिन्न दल, संगठनको चर्को विरोध हुदा हुदै पनि सोमबार साँझ रमाइलो मेलाको उद्घाटन भएको हो । मेला कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । मेला उद्घाटन समारोहमा बोल्दै आयोजक छिमेकी युवा समुहका अध्यक्ष राजेन्द्र राईले उत्सवलाई विकृतिरहित बनाइएको दाबी गर्दै उत्सव सम्पन्न भएको एक साताभित्र आय ब्यय सार्वजनिक गर्ने उद्घोष गरे । उनले सामाजिक कार्यको लागि उत्सव आयोजना गरिएको प्रष्ट्याउदै विकृति, विसंगतिविहिन बनाउन आफुहरु प्रतिवद्ध हुने पनि बताए ।
अध्यक्ष राईले भने,‘हामी सामाजिक संस्था हौं, सामाजिक कार्यको लागि उत्सव आयोजना गरेका छौ, उत्सव सकिएको एक साताभित्र आय ब्यय सार्वजनिक गछौं ।’ उनले १६ बर्ष अघिको एम्बुलेन्स पुरानो भइसकेकोले नयाँ खरीद प्रक्रियामा रहेको र उत्सवबाट बचेको पैसाले नयाँ एम्बुलेन्स खरीद गरेरै छोड्ने दाबी गरे । यस्तै, एन्फासँग मिलेर पब्लिक स्कुलको खेल मैदानलाई स्तरोन्नति गर्ने पनि अध्यक्ष राईले बताए । ‘असन्तुष्ट साथीभाईहरु पनि हुनुहुन्छ, विकृति हुनुहुदैन भन्ने हो भने अनुगमन समिति छ, आउनुस् मिलेर दैनिक अनुगमन गरौ, केही विकृति भए औल्याउ, सुधार गरेर लैजानु तयार छौ,’उनले भने ।
वडा नं १० का अध्यक्ष एवं नगर कार्यपालिकाले गठन गरेको अनुगमन समितिका सदस्य श्रीप्रसाद सुब्बाले चाडपर्वमा रमाइलो गर्न र एम्बुलेन्स खरीद गर्ने प्रस्तावलाई सकरात्मक लिएर उत्सव स्वीकृतिको नीतिगत निर्णय गरिएको दाबी गरे । उनले भने,‘अनुगमन समिति छ, हामी दैनिकरुपमा अनुगमन गछौ ।’ आयोजक संस्थाका सचिव सचिन्द्र राईका अनुसार उत्सव(मेला)मा रसियन झुला तयार भइसकेको छ भने रेल गाडी, सर्कस, रोटेपिङ, रेलगाडीलगायत बालबालिकाहरुलाई रमाउन विभिन्न खेलहरु तयार हुनेछन् । यस्तै, सस्तो सुलभ पसललगायत विभिन्न स्टल, रेष्टुरेष्टहरु पनि रहेको उनले बताए । ‘जुवाजन्य लक्की सेभेन, डटहरु केही पनि हुदैन । समय ९ बजेसम्म हो, र १० बजेभित्र मैदान खाली भैसक्छ,’उनले भने,‘सुरक्षाको लागि हाम्रो सेक्युरिटी गार्ड छ, नगर प्रहरी छ । जुवाजन्य खेलहरु नभएकोले प्रहरी र सशस्त्रले पनि सुरक्षा दिने भएको छ । सबैले पहिलाको मेला जस्तै सोचे, तर हामी सामाजिक संस्था भएकोले फरक तरिकाले नै लगाएका छौ ।’








































































