लेटाङ: हिउँद आएसँगै उत्तरी मोरङको लेटाङ नगरपालिका १ राजारानीका अनिल मगरलाई खानेपानीको अभावको समस्याले पिरोल्न थाल्छ ।

राजारानी क्षेत्रमा बसोवास गर्ने ५३ घर परिवारले अनिलले जस्तै पानीको अभाव झेल्दै आएका छन् । पर्यटकीय क्षेत्रको रुपमा विकास हुनुपर्ने यो क्षेत्रका बासिन्दाहरु खानेपानी अभावले पिरोलिदै आएका छन् । करिब १३ किलोमिटर उत्तरको आरुवोटेबाट पाइपमा ल्याइएको पानी दैनिक १ देखी २ घण्टा मात्र धारामा उपलब्ध हुुन्छ । अनिल भन्छन्,‘बेलाबेला धारामा पानी आउछ, पानी नभएको बेला पानी लिन एकघण्टा जति टाढाको कुवामा जानु पर्छ ।’

स्थानीयबासी मोतीलाल मगर पानीको समस्या विकराल भएको बताउँछन् । पर्याप्त पानी अभावले लुगा धुन, नुहाउन, खाना पकाउन, पिउनजस्ता दैनिक जीवनमा समस्या निम्तिएको उनको भनाई छ । ‘धारामा आएको पानीले पिउन नै पुग्दैन,’उनले बाध्यता पोख्दै भने,‘बिहानदेखी महिला धारामा पानी थाप्नमै समय बिताउनुपर्छ ।’ धारामा पानी नआउदा स्थानीयबासी एकघण्टा दक्षिणको चिसाङ खोला गएर कपडा धुनुपर्ने मगर बताउँछन् ।

पानीको समस्या सामधानको लागि स्थानीयबासीले पहल नगरेका भने होइनन् । स्थानीय सरकार बनेपछि सोही क्षेत्रबाट निर्वाचित बनेका वडाअध्यक्ष विष्णुकुमार मगरले पानीको श्रोत पहिचान गरी खानेपानी ट्याङ्की राख्न खोजेको बताए । त्यो सम्भव नभएपछि बिग्रिएको नाला बनाएर पानी नियमीत गर्न नगरपालिकाले कार्य शुरु गरेको अध्यक्ष मगर बताउँछन् ।

पानीको अभावलाई समाधान गर्न स्थानीयबासी नियमित र दीर्घकालीन उपाय तथा स्रोत खोज्नुपर्नेमा सहमत छन् । पर्यटन विकास गरे पुर्वकै पर्यटकिय क्षेत्र बन्नसक्ने राजारानीको विकासको लागि पनि पानीको सहज पहुच आवश्यक छ । पानीको दीर्घकालिन श्रोत पहिचान गरी त्यहाँका जनताको समस्या समाधान गरे पर्यटकीय क्षेत्रको विकास हुनसक्छ ।

तस्बिर स्रोत: गुगल