धरान: बौद्ध धर्म दर्शनको प्रर्वद्धन एवं बौद्ध शिक्षाको लागि असहाय, निम्नस्तरका विद्यार्थीहरुलाई पठनपाठनको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले धरानमा १० करोड बज्र गुरु जप तथा अष्ट गुरु नृत्य(छाम) कार्यक्रम हुने भएको छ ।

धरान १५, श्याम चोकस्थित ङाग्युर ञीङमा ङ्युङ्ने ल्हाखाङ गुम्बामा हुने कार्यक्रम कार्तिक २४ गतेदेखि १० दिनसम्म आयोजना हुने जानकारी दिइएको छ । मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गर्दै कार्यक्रममा अवतारी गुरुहरुको पनि सहभागिता हुने जानकारी दिएको छ । मुल संयोजक लोकबहादुर थिङका अनुसार विश्व प्रसिद्ध बौद्ध धर्म गुरु २१ औं अवतारी दुज्योम साङ्गे पेमा सेपा रिम्पोछे, सातौं अवतारी सिम्दा गेटुल रिम्पोछे, निमा साङ्पो रिम्पोछे र ज्यामयाङ वाङपो रिम्पोछे कार्यक्रममा प्रमुख आकर्षण हुनेछन् ।

कार्तिक २४ मा १० करोड बज्र गुरु जप आरम्भ हुनेछ भने लोप भइसकेका बौद्ध शताब्दीको गुरु नृत्यलाई जीवन्त बनाई राख्न अष्ट गुरु नृत्य(छाम) र तेसर ङोण्डोको अगम र प्रवचन, तेसर ठोमा(जीवनदान) अभिषेकलगायत कार्यक्रमहरु हुने पनि आयोजक समितिले जनाएको छ । ‘प्रदेशस्तरीय भएपनि यहाँ विभिन्न देशबाट पनि लामा, उपासक, उपासिकाहरु सहभागी हुन्छन्,’मुल आयोजक समारोहका सहकोषाध्यक्ष एवं गुम्बाका लामा राजेन्द्र स्याङबोले भने ।

gumbaa_DSC0983-01.jpeg copy

आयोजकका अनुसार १० दिनको अवधिमा एक हजार लामा सहभागी हुनेछन् भने ५० हजारको संख्यामा उपासक, उपासिकाहरु सहभागी हुनेछन् । हाल कक्षा ५ सम्म मात्र स्वीकृत रहेको बौद्ध शिक्षाको विद्यालयलाई १० कक्षासम्म पुर्याउने लक्ष्य राखिएको पनि लामा स्याङबोले बताए । विश्वमा लोप भइसकेको बौद्ध शताब्दी गुरु नृत्य जीवन्त राख्न अष्ट गुरु नृत्य स्थापना गर्ने पनि उद्देश्य रहेको भन्दै लामा स्याङबोले त्यसो गर्न सकिने धरानको पर्यटनमा ठुलो टेवा पुग्ने बताए । ‘यो नृत्य विश्वका ज्यादै कम गुम्बाले मात्रै गर्छन्, यहाँ स्थापना गर्न सकियो भने पर्यटकहरु भित्रिन्छन् । कार्यक्रमअवधिभर जो कोही पनि आउन छुट हुन्छ,’उनले भने ।

तस्बिरहरु: सनम तामाङ