धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रदेश १ खेलकुदको राजधानी बनाउने बताएका छन् ।
धरानमा शनिबार २१ औं बुढासुब्बा गोल्डकप प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ खेलकुदको राजधानी बन्ने बताए । प्रदेशमा फुटबलको विकास गर्न र फुटबलको राजधानी बनाउन एन्फासँग २ करोडको सम्झौता भइसकेको जानकारी दिदै मुख्यमन्त्री राईले अर्काे बर्ष मुख्यमन्त्री लिग सञ्चालन हुने बताए । ‘प्रदेश १ लाई खेलकुदको राजधानी बनाउनुपर्छ, प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको छ,’मुख्यमन्त्री राईले भने,‘धरान फुटबलको राजधानी हो, धरानको फुटबल र प्रदेशकै फुटबलको विकासमा एन्फासँग सहकार्य भइसकेको छ ।’
मुख्यमन्त्री राईले फुटबललाई संस्थागत विकास गर्न धरान फुटबल क्लबले महत्वपुर्ण योगदान गरेको भन्दै प्रसंसासमेत गरे । बुढासुब्बा गोल्डकपलाई निरन्तर २१ औं सँस्करणसम्म आयोजना गरेर इतिहास रचेको भन्दै मुख्यमन्त्री राईले अब खेलाडीहरुले उत्साहित भएर खेल्ने दिन आएको पनि बताए । ‘विगतमा खेलकुद छाँयामा पर्यो, खेल क्षेत्रलाई अन्याय भयो, व्यावसायिक बनेन, प्राथमकितामा परेन,’मुख्यमन्त्री राईले भने,‘यसकारण कि स्थिर सरकार बनेन, राजनैतिक स्थिरता भएन । अब समयले कोल्टे फेरेको छ, स्थिर युग र सुशासनको समय छ । अब खेल क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ ।’
रातमा पनि प्रतियोगिता गर्ने व्यवस्थाको माग
धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले धरान खेलकुदको सहर भएर पनि पुर्वाधारको अभाव झेलिरहेको भन्दै निर्माणाधिन रंगशाला पुरा गर्न आवश्यक बजेट विनियोजन गर्न माग गरे । साथै, उनले प्रदेश सरकारसँग रातको समयमा पनि प्रतियोगिता गर्न सकिने गरी नाइट भिजन फ्उड लाइटसहित बाँकी प्याराफिटको लागि बजेटको माग गरे । आगामी बर्ष(२०७६ साल)को राष्ट्रिय लिग धरानले पनि खेल्ने निर्णय गरेको जानकारी दिदै राईले यसको लागि प्रदेश सरकारले उचित बजेट व्यावस्थापन गरिदिन पनि माग गरेका थिए ।
दुई पत्रकार पुरस्कृत
उत्कष्ट समाचार सम्प्रेषण गरेको भन्दै आयोजक धरान फुटबल क्लबले २ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । गोल्डकपको समापन समारोहमा धरानका औजार दैनिकसम्बद्ध केदार बस्नेत र इटहरीका कान्तिपुर टेलिभिजनकर्मी अर्जुन सुवेदी पुरस्कृत भएका हुन् । दुवैलाई जनही ७ हजार ५ सय नगद र प्रशंसापत्रसहित पुरस्कृत गरिएको थियो ।