धरान: सर्दु खोला ठेक्का लगाउन टेण्डर आह्वान गरेको भन्दै विरोधमा उत्रिएका बस्तीबासीहरुसँग ४ बुँदे सहमति भएपछि सर्दु खोला उत्खननको ठेक्का लाग्ने पक्का भएको छ ।

सर्दु खोला सरोकार संरक्षण समितिको नेतृत्वमा आज दिउँसो धरान उपमहानगरपालिका घेराउ गर्न गएका बस्तीबासीहरुसँग सहमति भएपछि खोला ठेक्का लगाउन उपमहानगरलाई बाटो खुलेको हो । सर्दु खोला किनारमा रहेको बस्तीलाई क्षति पुग्ने भन्दै केही सातादेखि स्थानीयहरु ठेक्काको विरोधमा उत्रिएका थिए । आज शुक्रबार टेण्डरको फारम भर्ने अन्तिम दिन भएकोले बस्तीबासीहरु उपमहानगरपालिका घेराउ गर्न गएका थिए । उनीहरुले उपमहानगरको मुलगेटमा घेराउ, धर्ना र नाराबाजी गरेका थिए ।

उपमहानगरले छलफलमा बोलाएपछि आन्दोलनका नेतृत्वदायी प्रतिनिधिहरु वार्तामा गएका थिए । वार्तामा सरोकार समितिको माग वमोजिम नै सहमति जुटेपछि उपमहानगरलाई पनि खोला ठेक्का प्रक्रिया अघि बढाउन सहज भएको छ । कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बस्तीबासीमा खोला सबै ठेक्का लागेर उत्खनन हुन्छ भन्ने बुझाईले समस्या भएको बताए । तर, छलफलबाट बस्तीबासीहरुलाई प्रष्ट पारेपछि सहमति जुटेको उनले बताइन् । ‘खोला सबै नै उत्खनन हुन्छ भन्ने उहाँहरुमा त्रास रहेछ, हामीले आइइइ प्रतिवेदनले भनेअनुसार डिमार्केशन गरेर मात्र उत्खनन गर्न दिने हो भन्यौ । बस्ती जोगाउने जिम्मेवारी त उपमहानगरको पनि हो,’कार्यवाहक प्रमुख भण्डारीले भनिन् । धरानको जोखिमयुक्त क्षेत्रको पहिचान र वर्गीकरणको काम भइरहेको र त्यसैको आधारमा संरक्षणको योजना बन्नेबारेमा पनि आफुले प्रष्ट्याएपछि सहज भएको उनले बताइन् ।

वार्ताबाट आइइइ प्रतिवेदनले तोकेअनुसार नदीजन्य पदार्थ झिक्न सिमांकन गरिदा स्थानीयबासी तथा सरोकारवालाहरुलाई पनि सहभागी गराउने र अनुगमनमा राख्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले बताए । यसैगरि, बाढी वा नदी कटानबाट क्षति भएको अवस्थामा उपमहानगरपालिकाले तत्काल उद्दार र राहत उपलब्ध गराउने पनि सहमति भएको छ भने ठेक्काको निश्चित प्रतिशत कार्यपालिका बैठकबाट निर्णय गरेर प्रभाव क्षेत्रको माग र वडा कार्यालयको सिफारिशमा संरक्षण तथा सुरक्षाको लागि विनियोजन गर्ने सहमति भएको अधिकृत पोख्रेलले जानकारी दिए ।