धरान: एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको लागि स्थापना गरिएको बाल शिक्षा हातेमालो अक्षय कोषमा २० हजार रुपैया थप सहयोग भएको छ ।

धरान १७ समाज हङकङका सचिवसमेत रहेका विनोद राईले अक्षय कोषमा २० हजार रुपैया सहयोग गरेका हुन् । आफ्नी छोरी अनामिकाले स्टाफ नर्स उतीर्ण गरेको खुशीमा समाजसेवी राईले अक्षयकोषमा सहयोग गरेको बताएका छन् । यो अक्षय कोष धरान पोजेटिभ समुह र धरान रनको सहकार्यमा २०७३ सालमा स्थापना भएको हो । कोषमा बराह ज्वेलरी, पत्रकारहरुको सहयोग अभियान, धरान रनलगायत विभिन्न संघसंसथा र व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

हाल कोषमा राईले सहयोग गरेको २० हजारसहित ५ लाख ५२ हजार ३ सय २० रुपैया जम्मा भएको छ । यसको ब्याजबाट आउने रकमले बर्षेनी एचआइभि संक्रमित तथा प्रभावित बालबालिकाहरुलाई समुहले आवश्यक शैक्षिक सामग्रीहरु प्रदान गर्दै आइरहेको छ । दाता राईले समुहका उपाध्यक्ष आलोक गुरुङलाई नगद हस्तान्तरण गरेका थिए । उनले दाता एवं सहयोगीहरुबाट संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षामा ठुलो सहयोग पुगेको भन्दै धन्यवाद दिएका थिए । सहयोगी राईले पनि पवित्र उद्देश्य लिएर स्थापना भएको अक्षय कोषलाई छोरी पास भएको अवसरमा सहयोग गर्न पाउदा ज्यादै खुशी लागेको बताए ।