धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र रहेको गल्फ कोर्ष नेपालकै उत्कृष्टमध्येमा पर्छ । प्रदेश नं १ मा यही मात्र एक गल्फ कोर्ष हो ।

ब्रिटिश घोपा क्याम्प रहदा गोराहरुले यो कोर्ष बनाएका थिए । नेपालमा काठमाण्डौ, पोखरा र पुर्वमा यही धरानमा मात्र गल्फ कोर्ष छ । त्यसैले नेपालमा गल्फ खेलाडी उत्पादनमा धरानको पनि महहत्वपुर्ण योगदान छ । तर, यो गल्फ कोर्षको संरक्षणमा भने त्यति ध्यान पुग्न सकेको छैन । कोर्षको स्वामित्व वीपी प्रतिष्ठानसँग छ । प्रतिष्ठानले निर्वाणा कन्ट्री क्लबलाई ५० बर्षको लागि लिजमा दिएको छ । निर्वाणाले कोर्षलाई उचित रेखदेख नगरेको भन्दै विवाद र आलोचना पनि खेप्ने गर्छ । कोर्ष जुनरुपमा रहनुपर्ने हो, त्यस्तो छैन ।

indra-barah-golf1

गल्फ कोर्षको संरक्षणको प्रमुख दायित्व कसको हो भन्ने विवाद र अन्योल चलिरहदा शनिबार भने प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले यो कोर्ष राष्ट्रको सम्पत्ति भएकोले संरक्षणको दायित्व पनि सबैको भएको बताए । गल्फ कोर्षमा बिशेष चासो देखाउदै सभामुख भण्डारीले उचित संरक्षण हुन नसकेको भन्ने टिकाटिप्पणीबारे पनि मुख खोले । ‘यो गल्फ कोर्षको उचित संरक्षण हुन नसकेको भन्ने अनुभूति हुन्छ, यो धरानको मात्र होइन, राष्ट्रकै सम्पत्ति हो,’शनिबार पाँचौ इन्द्रबराह स्मृति गल्फ प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले भने,‘यो कोर्षको संरक्षण गर्ने दायित्व हामी सबैको हो ।’

सभामुख भण्डारीले गल्फ कोर्षको संरक्षणमा आफुले पनि प्राथमिकतामा राखेर सहयोग गर्ने बताए । साथै उनले कोर्षको संरक्षणप्रति प्रदेशसभाको पनि ध्यानाकर्षण भएको बताए । प्रदेश सरकारबाट पनि कोर्षको संरक्षणमा सहयोगको लागि आफ्नो पहल हुने उनको भनाई थियो । सोही कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले गल्फ कोर्षको संरक्षणमा उचित ध्यान दिने बताए । लिजमा भएपनि यसको नियमति अनुगमन हुने उनको भनाई थियो ।