एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ।
कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन्। ‘हामी काम गरिरहेका थियौं। साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरे। सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिए,’ एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले सेतोपाटीसँग भनिन्, ‘उनीहरू को हुन् र किन आएर तोडफोड गरे। केही भनेनन्। समाजवादी पार्टीका कार्यकर्ता हुन् कि जस्तो लाग्छ।’
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्कन्छन्। सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ।
अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।