विराटनगर: विवादित व्यवहार र अभिव्यक्तिले आलोलित बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले पछिल्लो समय महिलाप्रति दिएको अभिव्यक्तिबारे प्रदेश सांसदले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रदेशसभामा शुन्य समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले अराजकता र गुण्डागर्दी शैलीमा उत्रिए पनि नेपाल कम्युनिष्ट पार्टी र सत्ता पक्षले कुनै कदम चलेको भन्दै ध्यानाकर्षण गराएकी हुन् । उनले मेयर चौधरीलाई नेकपाले डामेर छोडेको साँढे बनाएको पनि आरोप लगाइन् । महिलाको कार्यक्रममा गएर महिलाको चरित्रको हत्या गर्ने काम मेयर चौधरीले गरेको भन्दै सांसद कार्कीले घोर भत्र्सना पनि प्रकट गरिन् । साथै, नेकपाले मेयर चौधरीलाई सुधार नगर्ने हो भने आफ्नो पार्टीको नीति र सिद्धान्त नै यही हो भनेर स्वीकार गर्न पनि चुनौती दिएकी छिन् । 'यो सरकारले भन्नु पर्यो कि हामी त्यही क्याटोगोरीको हो, हाम्रो नीति र सिद्धान्त त्यही हो, हामी त्यसैमा हिड्नेछौं भनेर स्वीकार गर्नुपर्यो,'शुक्रबार प्रदेशसभालाई सम्बोधन गर्दै सांसद कार्कीले भनिन्,'नत्र पागलखानामा लैजान पर्यो ।'

पत्रकारलाई लोपारेर र पछि मोवाइल कुराकानी तथा विभिन्न सञ्चारमाध्यमहरुमा नाक भाँच्न एक करोड छुट्याएको छु भन्दै अभिव्यक्ति दिएर मेयर चौधरी अत्यन्तै विवादमा तानिएका थिए । दुई दिनअघि मात्र पुनः महिलाहरुले आयोजना गरेको कार्यक्रममा यौनकर्मी महिलाहरुको बारेमा समाजमा अपाच्य एवं अश्लिल लाग्ने शब्द पटक पटक (रण्डी जिन्दावाद) भन्दै सार्वजनिक कार्यक्रममा नै बोलेपछि उनी पुनः विवादमा तानिएका छन् । उनको यो अभिव्यक्तिबारे महिला अधिकारकर्मीहरुले विरोध जनाइरहेका छन् ।

सांसद कार्कीले प्रदेशसभामा शुन्य समयमा बोलेको मन्तव्यको सम्पादित अंश:

'म इटहरीका मेयरको कुरा गर्न गइरहेको छुँ । मेयर द्धारिकलाल चौधरीले पहिलो आक्रमण पत्रकारमाथि गर्नुभएको थियो । पत्रकारलाई कठालो समातेर, जाथाभावी बोलेर गुण्डागर्दीमा उत्रिसक्नु भएको थियो । त्यो हेर्दा हेर्दै पनि हाम्रो सरकार, सत्तापक्षले कुनै किसिमको भुमिका निर्वाह नगरेको कारण आज उहाँले आँट पाएर फेरी पनि महिलाको कार्यक्रममा गएर महिलाहरुको चरित्र हत्या गरेर, सबै महिलाहरुलाई एकै ठाउँमा राखेर जुन काम गरेको छ, त्यसको म घोर भत्र्सना गर्न चाहन्छ ।

उहाँले एउटै शब्द २९ चोटी दोहोर्याउनु भएको छ, त्यो शब्द सुनेको पनि छैन, अरुकै मुखबाट सुनेको छुँ । त्यो सुन्दा पनि तपाईको माझमा उच्चारण गर्ने अवस्थामा म छैन । महिलाले लिविष्टिक लगाउछौं, त्यो लगाउने शब्दलाई पनि शब्द निकाल्नु भएको छ । विवाहित महिलाले बच्चा बच्ची नपाउनको लागि पिल्स खाइन्छ, त्यो पनि यो महिलाले खाने भनेर बोलिरहेको छ । महिलाको लागि यति नराम्रो शब्द बोल्नु भएको छ, सरकार मौन छ, किन हो मलाई थाह छैन । मलाई के लाग्छ भने यो नेपाल कम्युनिष्ट पार्टीका मेयर हुनुहुन्छ, साढे हुन्छ नि साढे, साँढेलाई नेपाल कम्युनिष्ट पार्टी भनेर डामेर छोडेको साँढे मेयर द्धारिकलाल चौधरीलाई हामीले देखिसकेको छौं ।

अब आउने युवाहरुले पार्टीमा के हेरेर आउने ? यो पार्टीमा धेरै युवाहरु आउछन्, नेकपामा आउदा जे पनि बोल्न पाइन्छ, जे पनि गर्न पाइन्छ भन्ने उनीहरुको मनोवल बढीसकेको छ । यो पार्टी देश हाक्ने होइन, अराजकतातिर लागिरहेको छ । नेपाल कम्युनिष्ट पार्टीले मेयरको हर्कतलाई कि सुधार्न सक्नुपर्छ, कि पागलखानामा भर्ति गर्न सक्नुपर्यो । कि भन्नुपर्यो यो सरकारले हामी त्यही क्याटोगोरीको हो, हाम्रो नीति र सिद्धान्त त्यही हो, हामी त्यसैमा हिड्नेछौं भनेर नेपाल कम्युनिष्ट पार्टीले स्वीकार गर्नुपर्यो, नत्र पागलखानामा लैजानुपर्यो । मेयरले महिलामाथि धावा बोल्दा पनि मन्त्री पद पाइँदैन भनेर नबोल्नु भएको होला सत्तापक्षीय महिला सांसदहरु । '