धरान : चाँदनी सिख मुस्लिम महिलाहरुको पक्षमा काम गर्न चाहान्छिन् । उनलाई अगाडी गएर बोल्न, विभिन्न ब्यक्तिहरुसँग आफ्नो कुरा राख्न तथा सामाजिक संघसंस्थाहरुमा आवद्ध भएर नेतृत्व विकास गर्न चाहान्छिन् ।
तर आज सम्म उनले त्यसका लागि आफुलाई तयार गर्न सकेकी थिइनन् । तर धरान उपमहानगरपालिकाको सहयोग र अञ्जुमन इस्लामियाको आयोजनामा सञ्चालित दुईदिने क्षमता विकास तालिमपछि भने उनीमा अब केही गर्न सक्छु भन्ने आत्मविश्वास जागेको छ ।

उनी भन्छिन् ‘यो तालिमले मलाई निकै हौसला दिएको छ ।’ तालिममा सहभागि आश्मा खातुनपनि मुस्लिम महिलाहरुका पक्षमा काम गर्न चाहान्छिन् । तर कसरी काम गर्ने भन्ने अन्योल्ता उनीमा थियो । क्षमता विकास तालिमपछि उनीमा पनि आत्माविश्वास जागेको छ । ‘अब आफ्ना कुरा राख्न र अरुका कुरा सुन्न सक्ने भईयो उनी भन्छिन् । सहभागिहरुमा निकै उत्साह र उत्सुक्ता भेटियो तालिमका सहजकर्ता तिर्थ कार्की भन्छन्, ‘धरान भित्र रहेका मुस्लिम समुदायका महिलाहरुमा सामाजिक चेतना र नेतृत्व गर्न सक्ने क्षमता देखिन्छ ’ कार्किको भनाई छ । अञ्जुमन इस्लामियाले मुस्लिम महिलाहरूको सशक्तिकरणका लागि दुई दिने शसक्तिकरण कार्यक्रम गत मङ्गलबार शुरु गरेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा खालिद हुसैन हकले मुस्लिम महिलाहरूको सशक्तिकरणका लागि ज्ञानसँगै उनीहरूलाई आर्थिक रूपमा पनि सबल बनाउनुपर्ने धारणा राखेका थिए । यसका लागि उनीहरूलाई सीपमूलक तालीम दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा धरानको इन्जिनियरिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख जावेद आलम र मुस्लिम सेवा समितिका अध्यक्ष वसि अहमद खानले पनि धारणा राखेका थिए ।
इस्लामियाका अध्यक्ष शेख युसुफ अलीका अनुसार अधिकारसँगै मुस्लिम महिलाहरूलाई सामाजिक दायित्वबोध गराउन कार्यक्रम आयोजना गरिएको हो ।
८० जना मुस्लिम महिला सहभागी कार्यक्रममा पहिलो दिन राजेश विद्रोही र तीर्थ कार्कीले सहजीकरण गरेका थिए भने दोस्रो दिन बुधबार वेणु काफ्ले र योगेशबाबु काफ्लेले सहजीकरण गरेका थिए । कार्यक्रम धरान ३ स्थित सरस्वती वाल आश्रमको हलमा भएको थियो ।