धरान : इलाका प्रहरी कार्यालय धरानले बन्दुक र राइफल सहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जनाकारी अनुसार १२ गते शुक्रवार राति ९ बजे धरान उपमहानगरपालिका वडा नं.११ बस्ने सुचिम राईको घरको तलासी लिँदा सो घरमा डेरा कोठा लिई बसेका प्रक्षितजङ्ग क्षेत्रीको कोठाबाट मेडइन क्यानडा लेखिएको १२ बोर बन्दुक १ थान फेला परेको हो । सो बन्दुक धरान १३ बस्ने मुलुकसिंह लिम्बुको भएको खुलेको थियो । तत्कालै मुलुक सिंह लिम्बुको घर कोठा तलासी लिँदा २२ लङ्ग राइफल र सो मा प्रयोग हुने म्यागेजिन १ थान र गोली २ राउन्ड फेला परेको प्रहरीले जनाएको छ ।
बन्दुक र राइफल सहित धरान १३ बस्ने मुलुकसिंह लिम्बू, र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ बस्दै आएका प्रक्षितजंग क्षेत्रीलाई पक्राउ गरी आज सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध (संहिता)ऐन, २०७४ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।




























































