धरान : विजयपुर स्थित पुरातात्त्विक महत्वको पिण्डेश्वर मन्दिर पश्चिम तर्फ स्थित पोखरी हाल सरस्वती सरोबर विजयपुरका संस्थापक राजा विजयनारायणकी महारानी थाङसामाले निर्माण गर्न लगाएकी हुन ।
धरानमा भएको विजयपुरको इतिहास सम्बन्धी दुई दिने अधिगोष्ठीमा भएको छलफलले उक्त निष्कर्ष निकालेको ‘विजयपुर सम्मेलन २०८३’ घोषणापत्रमा उल्लेख छ । राजा विजयनारायणले सन् १५८४ देखि १६०९ विसं १६४१ देखि १६६६ सम्म राज गरेका थिए ।
सम्मेलनमा महारानी थाङसामा विषयक शोधपत्रमुलक कार्यपत्र अभियन्ता ताजुब लिम्बुले प्रस्तुत गरेका थिए । विजयपुरका राजा र चाैतारिया बारे धेरै सोधखोज भए तापनि महारानी केन्द्रित शोधमूलक अध्ययन अहिले सम्म भएको थिएन ।
कार्यपत्रमा राजा विजयनारायणको निधन पछि दरवारिया बिच राज्य सञ्चालनको हानथाप भएको अवस्थामा महारानी थाङसामाले सत्ताको बग्डोर आफ्नो हातमा लिएर राज्य सञ्चालन गरेको पनि उल्लेख छ । राजा विजयनारायण निःशन्तान थिए ।
यस अघि महारानी थाङसामाबाट लिम्बुवानको थुम थुममा मानवीय कल्याणकारी, सामाजिक कार्यहरू गरेको इतिहास र भौतिक अवशेषहरू अहिले पनि पाइने घोषणापत्रमा उल्लेख छ । पिण्डेश्वर मन्दिर परिसरको पोखरी लगायत तेह्रथुम पाटिगाएँ, ताप्लेजुङको थेचम्ब र चांगेमा पोखरी निर्माण गराएकी पाइन्छ ।
घोषणापत्रमा भनिएको छ ‘लोहाङ सेनले विजयपुर लिनु पूर्व विजयनारायण रायको देहान्त भएकोले महारानी थाङसामाले अन्तरिम शासन सत्ता समेत सम्हालेको यो सम्मेलनको निष्कर्ष रहेको छ ।’ रानी थाङसामाले युद्ध प्रभावित भाइहरू लाहाङ र नामहाङलाई संरक्षण गरेकी थिइन् ।
विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिको सहकार्यमा विजयपुर सम्मेलन आयोजक समितिद्वारा असोज १३ र १४ गते लाङघाली सामुदायिक बनको सभा हलमा सञ्चालन भएको थियो । सम्मेलनमा विजयपुरको इतिहास सम्बन्धी ८ वटा शोधमूलक कार्यपत्रहरूमा माथि छलफल भएको थियो ।
सम्मेलनद्वारा जारी घोषणापत्रमा भनिएको छ ‘उपलब्ध ऐतिहासिक परम्परा, श्रोत तथा वंशावलीगत सामग्रीहरूको पुनः परीक्षणबाट विजयपुरका संस्थापक राजा विजयनारायण राय र उनैको नामबाट विजयपुर भएको निष्कर्षमा यो सम्मेलन पुगेको छ ।’
विजयपुर सहर र राजधानीको स्थापना र प्रारम्भिक राजनीतिक विकास सम्बन्धी विभिन्न ऐतिहासिक लेखनमा मतभिन्नता पाइने कुरा उल्लेख गर्दै घोषणापत्रमा केही लेखकहरूले विजयपुर निर्माण वा स्थापनालाई पाल्पाली सेन, विजय सेनसँग जोडेको पाइए पनि उपलब्ध प्रमाणहरूले पुष्टि नगरेको बताइएको छ ।
विजयपुरका संस्थापक विजयनारायणको कुलवंश अहिले पनि ताप्लेजुङमा पाइने गरेकोले बाह्य शासकको भूमिका यसमा नभएको स्पष्ट गर्दै घोषणापत्रमा भनिएको छ ‘सम्मेलनले विजयनारायण राय, सिदिइङ, साङलाइङ–पुङलाइङ याक्थुङ-लिम्बु कुलवंशसंग सम्बन्धित भएको सम्मेलन निष्कर्ष प्रस्तुत गर्दछ ।’
विजय नारायण रायका पुर्खाका सम्बन्धमा विभिन्न इतिहासकार तथा लेखकहरूले फरक फरक मत राखे तापनि हाल सम्म प्राप्त सामाग्रीहरूको तुलनात्मक परीक्षण, वंशावली परम्परा तथा ऐतिहासिक सन्दर्भहरूको मूल्याङ्कनको आधारमा उक्त निष्कर्ष निकालिएको घोषणापत्रमा उल्लेख छ ।