इटहरी : नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तरगत क्षेत्रीय समितिको अधिवेशन जारी छ । सुनसरीको क्षेत्र नम्बर २ मा सहमतिको प्रयास असफल भएपछि मतदान मार्फत कार्यसमिति र महाधिवेशन प्रतिनिधि टुङ्गो लगाउनेगरि प्रक्रिया अगाडी बढेको हो ।

क्षेत्रीय सभापतिमा रामधुनी नगरपालिकाका निवर्तमान नगर सभापति सुदीप अधिकारी र इनरुवा नगरपालिकाका निवर्तमान नगर सभापति राजन मेहता बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ । मेहतालाई सुनसरीकै अग्रज र प्रभावशाली नेताहरूले साथ दिइरहेको बेला सुदीपले एकल प्रतिस्पर्धाको चुनौती दिएका छन् ।

विशेष महाधिवेशनको मर्म र भावना अनुसार नेतृत्व रूपान्तरण र पुस्तान्तरणको अभियानमा आफू लागेको सुदीपले बताएका छन् । पार्टी सभापति गगन थापाले उद्घोष गरेअनुसार ‘लास र दास’ भन्दा माथि उठेर प्रश्न र प्रतिस्पर्धालाई जीवन्त राख्ने उनको भनाइ छ ।

नेताहरूले सहमतिमा आएर महाधिवेशन प्रतिनिधि जान सुझाव दिएपनि सुदिपले क्षेत्रीय सभापतिमै भिड्ने चुनौती दिएका छन् । सुदीप सहमतिमा नआएपछि अर्का आकाङ्क्षी मेहतालाई नेपाली काँग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू राजीव कोइराला र राजीव ढुङ्गाना दुवैले साथ दिएका छन् ।

मेहतालाई साथ दिनेमा तरुण दल सुनसरीका अध्यक्ष तथा कोशी प्रदेश सदस्य सिजन गुरुङले समेत छन् । लामो समयदेखि सुदीप गुरुङको पक्षमा खुल्दै आएका नेता हुन् । महाधिवेशन प्रतिनिधिमा एउटै टिम बनाएर जाने नेताहरू बिच सहमति भएपछि गुरुङ समेत त्यसतर्फ लागेका हुन् ।

इटहरी उपमहानगरपालिकाका मेयर तथा निवर्तमान नगर सभापति हेमकर्ण पौडेल र नवनिर्वाचित सभापति विकास केसीले मेहताकै पक्षमा लाग्ने बुझिएको छ । आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार भएका पौडेल टिममा इमान्दार बन्नुपर्ने लाइनमा छन् । केसीले इनरुवा र देवानगञ्जबाट टिममा धोका हुनसक्ने आशङ्का गर्दै प्रदेश क्षेत्र अनुसारको मतपेटिका राख्न आग्रह गरेका छन् ।

पूर्व क्षेत्रीय सभापति समेत रहेका मणिराम श्रेष्ठले समेत मेहतालाई समर्थन गर्ने भएका छन् । टिमबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुने भएका श्रेष्ठ यसअघि लिलामणी सुवेदीसँग क्षेत्रीय सभापतिमै पराजित भएका थिए ।

टिममा परेपछि मात्र महाधिवेशन प्रतिनिधि आउन सक्ने भएपछि नेताहरू एकजुट भएका हुन् । स्थानीय तह निर्वाचन देखि नै जिल्ला सभापति केदार भण्डारी र मेहता बिचमा बढेको दुरी क्षेत्रीय अधिवेशनले नजिक बनाएको छ । मेहतालाई क्षेत्रीय सभापति बनाउने र भण्डारीलाई पुनः जिल्ला सभापतिमा दोहोर्‍याउने गरी तयारी भएको नेताहरूले बताएका छन् । भण्डारीसँग निकट मानिएका सुदीप भने उनको रोजाइमा परेनन् ।

त्यस्तै यसअघि भण्डारीसँग जिल्ला सभापतिमा पराजित भएका सञ्जय श्रेष्ठ समेत मेहेताकै पक्षमा छन् । पूर्व जिल्ला सभापति सिताराम मेहताले राजन मेहतालाई नै समर्थन गर्ने जनाइएको छ । यसरी हेर्दा सुदीपले राजन मेहता सहित १० प्रभावशाली नेताहरू सँगको चुनावी युद्धमा होमिने आँट गर्ने भएका छन् ।