इटहरी : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ को अधिवेशन अन्योलमा परेको छ । असोज १५ गते बिहीबार मतदानको क्रममा चिटको विषयलाई लिएर विवाद भएपछि स्थगित भएको अधिवेशन प्रक्रिया पुनः सुरु हुन सकेको छैन ।
क्षेत्रीय सभापतिका प्रतिस्पर्धी उम्मेदवारहरू सुदीप अधिकारी र राजन मेहेताको रोहबरमा निर्वाचन समितिले मतदान स्थगित भएको जनाएको थियो । मतदान स्थगित भएपछि केन्द्रीय महाधिवेशनको पुर्वसन्ध्या सम्म क्षेत्रीय अधिवेशन अलमलमा परेको हो । प्राविधिक समस्या देखाउँदै रोकिएको निर्वाचन प्रक्रिया पुनः सुचारु हुन सकेको छैन ।
सुनसरीका प्रभावशाली नेताहरूले छुट्टै समूह बनाएर निर्वाचनमा होमिएको भएपनि लिस्टमा विवाद भएपछि समस्या उब्जिएको थियो । नेताहरू राजीव कोइराला, राजीव ढुङ्गाना, केदार भण्डारी, सञ्जय श्रेष्ठ, हेमकर्ण पौडेल, विकास केसी, मणिराम श्रेष्ठ, सिजन गुरुङ, राजन मेहेता लगायत प्रभावशाली नेताहरू एउटै समूह बनाएर निर्वाचनमा होमिएका थिए ।
प्रभावशाली नेताहरूको तर्फबाट क्षेत्रीय सभापतिमा मेहेताले उम्मेदवारी दिए भने उनको प्रतिस्पर्धीको रूपमा अधिकारी मैदानमा उभिए । क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा सोचेजस्तो परिणाम नआउने सङ्केत बुझेपछि निर्वाचन अव्यवस्थित भएको भन्दै मतदान स्थगित गरिएको थियो ।
यसअघि प्रभावशाली नेताहरूकै जोडबलमा इटहरीको अधिवेशन सर्वसम्मत भएको थियो । नगर सभापतिमा बालकृष्ण बिस्ट र विकास केसी बिचमा हुन लागेको मतदान रोकेर सहमति गराइएको हो । सहमतिको आधारमा बिष्टलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि लैजाने भनिएपनि अधिवेशन स्थगित भएको कारण विष्ट अझै अलमलमा छन् । श्रोतका अनुसार सहमतिमा समेत विष्टको नाम समावेश गर्न सक्ने अवस्था देखिएको छैन ।
इटहरीमा सर्वसम्मत गराउने प्रयासमा प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा क्षेत्रीय समिति सर्वसम्मत गराउने तयारी भएको थियो । २ (क) मा सर्वसम्मत समिति गठन भएपनि सङ्घीय निर्वाचन क्षेत्रमा भने एउटै लिस्ट बनाएर चुनावमा होमिने नेताहरू तयार भए तर पूर्ण मतदान हुन सकेन । मतदान स्थगित भएपछि पुनः निर्वाचन गराउन माग राख्दै नेताहरूले दबाब दिएका छन् ।
२(क) का सभापति सुवेच्छु देवानले सहमतिको नाममा लोकतान्त्रिक विधि, प्रक्रिया र स्थापित मूल्य मान्यतालाई कमजोर नबनाउन ध्यानाकर्षण गराएका छन् । महाधिवेशन प्रतिनिधिको उम्मेदवारी फिर्ता नभई र निर्वाचन प्रक्रिया अन्त्य नगरी एकलौटी ढङ्गबाट प्रतिनिधि चयन लोकतान्त्रिक विधि नभएको उनले बताए । सहमति एकल निर्णयबाट नभई सबैको सहभागिता, संवाद, सम्मान र विश्वासबाट निर्माण हुने सभापति देवानले प्रस्ट पारे ।
यसअघि इटहरी अधिवेशनमा मनोनयन दर्ता नगराएका सूर्यनारायण चौधरी सचिवमा चयन भए भने अन्य पदाधिकारीका उम्मेदवारले विधिवत् उम्मेदवारी फिर्ता नलिई समिति घोषणा गरिएको थियो । तत्कालीन उपसभापतिका उम्मेदवार बिशुधन राईले विधि र प्रक्रिया मिचेर समिति गठन भएको भन्दै आपत्ति जनाएका थिए ।
सुनसरी २ मा निर्वाचन प्रक्रिया स्थगित गरेर नेताहरूले सहमतिको दबाब बढाएपछि सभापतिका उम्मेदवार अधिकारीले आपत्ति जनाएका छन् । ‘सहमतिका नाममा पहुँच र गुटगत निकटताका आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि कब्जा गर्न खोज्नु पार्टीको आन्तरिक लोकतन्त्रमाथिको गम्भीर प्रहार र पद्धतिहीनताको पराकाष्ठा हो,’ उनले भनेका छन् ।
निर्वाचनमा होमिइसकेका मतदाता (क्षेत्रीय प्रतिनिधि) हरूको सार्वभौम मताधिकारलाई कुण्ठित गर्दै शक्तिको उन्मादमा आफ्ना मान्छे संस्थागत गर्ने यो गलत अभ्यासले लोकतान्त्रिक निष्ठा, निष्पक्षता र विधिको शासनको धज्जी उडाएको उनको भनाइ छ ।
नेताहरूले भने अधिकारीलाई महाधिवेशन प्रतिनिधि गएर क्षेत्रीय सभापतिको उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका छन् । अर्कातर्फ सुनसरी ३ मा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएपछि इटहरी नगर सभापति विकास केसीले आपत्ति जनाएका छन् । आफूलाई नसोधी एकलौटी रूपमा महाधिवेशन प्रतिनिधि छनौट भएको भन्दै उनले विरोध जनाएका हुन् ।
निर्वाचन प्रक्रिया पुनः सुचारु गर्न सभापतिका उम्मेदवार अधिकारी देखि महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरस राईले समेत दबाब दिइरहेका छन् ।
itahari congress 2