धरान : प्रहरीले आज मङ्गलवार बिहान १ बजेको समयमा धरान-१५ मा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका अन्दाजी ३०/३१ वर्षका परिचय नखुलेका युवकको आफन्त खोजिरहेको छ ।
को ३५ प ४११५ नम्बरको रोयल इनफाइल्ड कम्पनीको मोटरसाइकल चलाएको, कालो जुत्ता, कालो पाइन्ट, भित्र सेतो टिसर्ट, बाहिर कालोमा सेतो धर्के चेक सर्ट र हातमा कालो पन्जा लगाएको मृत युवकको आफन्तले इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको हो ।
मोटरसाइकल धरान-१५ आडालाईनको भित्री सडक खण्ड श्यामचोक देखी पुरानो बसपार्क जाने बाटोमा भएको प्रहरीले जनाएको छ । प्रहरी अनुसार नाम थर वतन नखुलेको मानिसले चलाई लैजाँदै गरेको बुलेट मोटरसाइकल आफै अनियन्त्रित भई दिव्या लिम्बुले सञ्चालन गरेको मासु पसलको वाल (भित्ता) मा ठक्कर लागी दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भई बेहोस अवस्थामा स्थानिय मानिस र प्रहरीले तत्कालै एम्बुलेन्समा राखी वीपी प्रतिष्ठान पठाइएको थियो । घाइते युवकको उपचारको क्रममा आजै बिहान डेढ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।








































































