धरान  : रिक्त शिक्षक दरबन्दीमा नियुक्तिको माग गर्दै अनशनमा बसेका बाल सञ्जाल प्रतिनिधि रोजन शङ्करले फिनेल सेवन गरेपछि फिनेल अनशन स्थल सम्म कसरी पुग्यो भन्ने प्रश्न उठेको छ ।
विद्यार्थीहरू गत बिहीबारदेखि आन्दोलनमा छन् । आन्दोलनकै क्रममा अनशन बसेका रोजनले फिनेल सेवन गरेपछि उपचारका लागि बिपी प्रतिष्ठानमा उपचार हुँदैछ । 
घटनापछि फिनेल कसले, कहाँबाट र कसरी अनशन स्थलसम्म ल्यायो भन्ने विषयमा अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन । र यसबारे उपमहानगरपालिका तथा प्रहरीले छानबिन गर्ने चासो देखाएको छैन ।
सर्वपक्षीय बैठकमा घटनाबारे बोल्दै शरिन तामाङले आफूलाई सञ्चिता धमलाले फोन मार्फत जानकारी दिएको बताएकी छन् । तामाङका अनुसार धमलाले फोन गरेर ‘अनशन बसेका रोजनले आत्मदाह गर्ने भन्दै फिनेल सेवन गर्दैछन’ भनी जानकारी दिएकी थिइन । 
त्यसपछि आफूले फोनमार्फत रोजनलाई त्यस्तो नगर्न आग्रह गरेको र त्यसपछि तत्काल अनशन स्थल पुगेको केही समयमै रोजनले फिनेल सेवन गरेको तामाङले बैठकमा बताएका छन् ।
फिनेल अनशन स्थलमा कहाँबाट र कसरी आइपुग्यो भन्ने विषय भने खुलेको छैन र यसमा संलग्न खोजी गर्ने कार्य पनि भएको छैन । 
घटनापछि सामाजिक सञ्जालमा समेत घटनाको सत्य तथ्य छानबिन गर्न माग उठेको छ। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनाको छानबिन गरी जिम्मेवार देखिएमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् । 
यसबारे कावा प्रमुख अइन्द्रबिक्रम बेघासँग प्रश्न गर्दा फिनेल अनशन स्थलमा कसरी पुग्यो भन्ने कुरा सिसिटिभी फुटेज हेरेर सार्वजनिक गर्ने बताए ।
विद्यार्थीको माग पुरा गर्न धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले पाँच बुँदे निर्णय गरेका छन् । निर्णयमा रिक्त शिक्षक दरबन्दी तत्काल पूर्ति गर्ने तथा अनशनका क्रममा बिरामी भएका विद्यार्थीको उपचारको जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णयमा उल्लेख छ।