धरान : विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी विवादका कारण धरान–६ को सरस्वती मावि र धरान–११ को ज्ञानोदय माविमा शिक्षक नियुक्ति प्रक्रिया प्रभावित भएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर राईले बताएका छन् ।
शिक्षक नभएकोले पठनपाठन प्रभावित भएकोले विद्यार्थी आन्दोलित भएको कुरामा ध्यानाकर्षण गराउँदै धरानका २० वटै वडाका वडाध्यक्षले शुक्रवार राईलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
उनीहरूले समस्या तत्काल समाधान गरी कक्षा सञ्चालन नियमित गर्न माग गरेका छन् ।
ध्यानाकर्षण पत्रको जवाफमा प्रमुख प्रशासकीय अधिकृत राईले विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी विवादमा राजनीतिक चासो बढेर आन्तरिक मतभेदले शिक्षक नियुक्तिका जटिल बनेको बताए । उनले भने “विद्यालयमा शिक्षक र वडाध्यक्षहरूको इन्ट्रेस्ट बढी जोडिएको र राजनीति बढी भएकाले समस्या भएको हा, यो तत्काल समाधान हुन्छ ।”
शिक्षक नियुक्ति शिक्षा सेवा आयोगबाट नियुक्त शिक्षकको पदस्थापन, सरुवा तथा सेवा प्रक्रियाबारे छलफल भइरहेको राईले जानकारी दिए ।
विद्यार्थीको माग सम्बोधन गर्न सम्बन्धित वडाध्यक्षहरूसँग सोमबार छलफल गर्ने समय तय भएको उनले बताए ।
समाधानको मस्यौदा तयार :
आन्दोलनमा रहेका विद्यार्थी प्रतिनिधि र सरोकारवालासँग छलफल गरी बिहीबार राती नै समाधानको मस्यौदा तयार पारिएको राईले बताए । उनले भने ‘तर विद्यार्थीहरूले तयार पारिएको ड्राफ्टमा चित्त नबुझाएकोले हिजै समाधान हुन नसकेको हो ।’
कार्यवाहक नगर प्रमुखसँग भेटेर समस्या समाधानका लागि पहल गर्ने तयारी रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत राईले धरानको शिक्षा क्षेत्र सुधार्न शिक्षकलाई दलीय राजनीतिबाट टाढा राखी विद्यालय व्यवस्थापनलाई शैक्षिक र प्रशासनिक रूपमा प्रभावकारी बनाउनुपर्ने बताए ।
शिक्षा महाशाखा प्रमुख ध्रुव खड्काका अनुसार सरस्वती माविमा २०८२ माघ २६ देखि र ज्ञानोदय माविमा २०८० सालदेखि सामाजिक र नेपाली विषयको पठनपाठनका लागि शिक्षकको अभाव छ । सरस्वती माविमा गङ्गा धमला सेवा निवृत्त भएपछि शिक्षक नियुक्तिको विषयमा व्यवस्थापन र सल्लाहकार समितिको बैठकमा विवाद भएको उनले बताए ।
सरस्वती माविमा शिक्षक सेवा आयोगबाट शिक्षक ल्याउने वा करारमा नियुक्त गर्ने भन्ने विषयमा व्यवस्थापन समिति र प्रधानाध्यापकबिच मतभेद रहेको खड्काले बताए ।
त्यसका कारण नियुक्ति,परीक्षा, शैक्षिक सरुवा र अन्य प्रक्रिया अघि बढ्न नसकेको उनले बताए ।
ज्ञानोदयको अस्थायी समिति विरुद्ध मुद्दा
ज्ञानोदय माविमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा परेको छ ।
व्यवस्थापन समितिका सदस्यव्दय कला राई र गीता कुमारी जिमीले समिति गठन गैर कानुनी भएको दाबी गर्दै पुस ४ गते रिट निवेदन दायर गरेका हुन । पुस ६ गते संयुक्त इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।
रिट निवेदन तत्कालीन नगरप्रमुख हर्क साम्पाङ र धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो विरुद्ध परेको हो ।
पाँच सदस्यीय अस्थायी समिति:
अदालतमा मुद्दा विचाराधीन रहेकै बेला विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावित नहोस् भनेर अस्थायी समिति गठन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
नगर शिक्षा समितिकाको मङ्सिर १६ गतेको निर्णयअनुसार ज्ञानोदय र सरस्वती माविमा पाँच सदस्यीय अस्थायी समिति गठन गरिएको थियो । दुवै समितिको संयोजकमा नगरप्रमुख साम्पाङ रहेका थिए ।
वडाध्यक्ष भएपछि पनि लोकेन्द्र फागो विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष बसेकाले ज्ञानोदयमा विवाद उत्पन्न भएको हो ।
ज्ञानोदय माविमा कक्षा ११ र १२ का नेपाली विषयका शिक्षकको पद करिब साढे दुई वर्षदेखि रिक्त छ।