धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोशी प्रदेशका दुर्गम तथा ग्रामीण क्षेत्रका क्यान्सर बिरामीलाई उपचार तथा विशेषज्ञ परामर्शका लागि धरान धाउनुपर्ने बाध्यता घटाएको छ । 
प्रतिष्ठानले १४ जिल्लाको स्थानीय अस्पतालहरूसँग क्यान्सर उपचारका टेलिमेडिसिनबाट क्यान्सर उपचारको लागि नेटवर्क जोडेर सेवा प्रारम्भ गरेर धरान धाउनु पर्ने बाध्यता घटाएको हो ।
टु वर्ल्ड क्यान्सर कोल्याबोरेसन र नेपाल हस्पिस केयर सेन्टरसँगको सहकार्यमा सुरु गरिएको सेवामा बिपी प्रतिष्ठानलाई मुख्य केन्द्र (हब) र कोशी प्रदेशका १४ जिल्लाका अस्पताललाई ‘‘स्पोक’ का रूपमा जोडिएको हो ।
स्थानीय अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार र आवश्यकताबारे जानकारी लिएर बिपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले टेलिमेडिसिन मार्फत परामर्श दिने प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठ बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार हरेक बिहीबार टेलिमेडिसिनमार्फत क्यान्सर बिरामीको अवस्था मूल्याङ्कन गरी उपचार तथा लक्षण व्यवस्थापनका विषयमा विशेषज्ञ चिकित्सकले सुझाव दिनेछन् । उनले भने ‘यसबाट अस्पतालसम्म पुग्न कठिन हुने गम्भीर अवस्थाका बिरामीले स्थानीय अस्पतालबाटै विशेषज्ञ सेवा लिन सक्नेछ ।’
परियोजनाका लागि बिपी प्रतिष्ठान र नेपाल हस्पिस केयर सेन्टर बिच दुई वर्षका लागि समझदारी भएको छ। प्रतिष्ठानले जनाए अनुसार सेवा सञ्चालनमा कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सहयोग गरेको छ।
प्रदेश सरकारले १४ वटै जिल्लाका अस्पतालबाट नेतृत्व गर्न सक्ने चिकित्सक तथा नर्स छनोट गरेको छ। उनीहरूलाई पाँच दिने आवासीय तालिमसमेत दिइएको छ। तालिमको सुपरिवेक्षणका नेपाल लिड प्राडा विष्णुदत्त पौडेल र बिपी प्रतिष्ठानकी मेडिकल अन्कोलोजिस्ट डा सोनिया दुलालले गरेका थिए।
सेवा सुरु भएकै दिन तेह्रथुम र सोलुखुम्बुका ३ जना जटिल क्यान्सर बिरामीले टेलिमेडिसिन सेवा लिएको प्रतिष्ठानले जनाएको छ । स्थानीय चिकित्सकले बिरामीको अवस्थाबारे विशेषज्ञ टोलीलाई जानकारी गराएपछि विशेषज्ञ चिकित्सकले उपचार तथा दुखाइ र अन्य लक्षण कम गर्ने उपायबारे परामर्श दिएको बताइएको छ ।
प्रवक्ता प्राडा. श्रेष्ठले भने ‘नेपालमा क्यान्सर सम्बन्धी विशेषज्ञ जनशक्तिको कमी रहेकाले हाल टेलिमेडिसिन सेवा क्यान्सरका बिरामीमा केन्द्रित गरिएको हो ।’ टेलिमेडिसिन सेवाले दुर्गम क्षेत्रका बिरामीलाई उपचारका लागि पटक–पटक ठुला अस्पतालसम्म आउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको उनको भनाई छ ।