इटहरी : नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तरगत क्षेत्रीय समितिको अधिवेशन जारी रहँदा सुनसरीमा विवाद देखिएको छ । सुनसरीको क्षेत्र नम्बर ४ मा अनिश्चित कालको लागि अधिवेशन स्थगित भएपनि क्षेत्र नम्बर २ मा मतदान स्थगित भएको छ ।
बिहीबार बिहान ९ः३० देखि सुरु भएको मतदान प्रक्रिया क्षेत्रीय प्रतिनिधिले उम्मेदवारको चिट बोकेको विषयमा विवाद भएपछि स्थगित भएको थियो । क्षेत्रीय प्रतिनिधिले केही उम्मेदवारको नाम नरहेको चिट बोकेर मतदान गर्न गएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु हुन सकेन ।
क्षेत्रीय सभापतिमा समेत कडा टक्कर देखिएपछि नेताहरूले सहमतिको सङ्केत गरेका हुन् । क्षेत्र नम्बर २ का प्रभावशाली सम्पूर्ण नेताहरू राजन मेहेताको पक्षमा लागिरहेको बेला अर्का उम्मेदवार सुदीप अधिकारीले टक्कर दिएका थिए । अधिकारी प्रतिस्पर्धामा आएको बुझेपछि नेताहरूले सहमतिको लागि भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिको लागि छलफल गर्ने बाटो खोजेका छन् ।
अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित भएको निर्वाचन समितिले जनाएको छ । सभापतिका दुई उम्मेदवारको रोहबरमा निर्वाचन समितिले सूचना प्रकाशित गरेको हो ।










































































