धरान : सरस्वती मावि र ज्ञानोदय माविमा रिक्त शिक्षक दरबन्दीमा ‘तुरुन्त शिक्षक नियुक्ति गर्न’ उपमहानगरपालिकाको विद्यार्थीहरूकै अघि परिपत्र गरे पनि उनीहरूले नगर प्रमुखको कार्यकक्षमा पुनः तालाबन्दी गरेका छन् ।
विद्यार्थीको तालाबन्दी र अनशनपछि धरान उपमहानगरपालिकाले दुवै विद्यालयलाई ‘रिक्त दरबन्दीमा तुरुन्त शिक्षक नियुक्ति गर्नू’भनी निर्देशनात्मक पत्र पठाएको छ ।
नियुक्ति प्रक्रिया अघि बढाउन पत्राचार गरिसके पनि विद्यार्थीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुनः तालाबन्दी गरेका हुन ।
यसअघि बिहीबार दुवै विद्यालयका विद्यार्थीले शिक्षक नियुक्तिको माग गर्दै उपमहानगरपालिका घेराउ, तालाबन्दी तथा अनशन गरेका थिए।
शिक्षक अभावका कारण लामो समयदेखि पठनपाठन प्रभावित भएको भन्दै उनीहरूले तत्काल शिक्षक नियुक्ति गर्न माग गर्दै आएका छन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईका अनुसार दुवै विद्यालयलाई शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउन भदौ ९ गते नै पत्राचार गरिएको थियो।
विद्यार्थीले तालाबन्दी गरेपछि उक्त पत्रको विषय चर्चामा आएको छ ।
सरस्वती माविलाई पठाइएको पत्रमा माध्यमिक तह सामाजिक विषयको रिक्त दरबन्दीमा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक नआउन्जेलसम्म आवेदन माग गरी योग्य उम्मेदवार छनोट गरेर नियुक्ति गर्न भनिएको छ।
ज्ञानोदय माविमा रिक्त माध्यमिक तह द्वितीय श्रेणीसरहको नेपाली विषयको दरबन्दीमा तुरुन्त शिक्षक नियुक्ति गर्न भनिएको छ। गणित विषयका शिक्षक शान्ति यादव प्रसूति बिदामा रहेकाले सो अवधिका लागि समेत शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ।
पत्रमा शिक्षक छनोटका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा प्रधानाध्यापकले तोकेको विषय विज्ञ, शिक्षा अधिकृत र प्रधानाध्यापक सदस्य–सचिव रहने गरी छनोट समिति गठन गर्नुपर्ने उल्लेख छ।
उपमहानगरपालिकाले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई पत्र हस्तान्तरण गरिसकेको जनाएको छ। तर, पत्राचारपछि पनि विद्यार्थीले शिक्षा महाशाखा, नगरप्रमुखको कार्यकक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
अब उपमहानगरपालिकाको पत्रअनुसार विद्यालय व्यवस्थापन समिति र सम्बन्धित निकायले शिक्षक नियुक्तिको प्रक्रिया कति छिटो टुङ्ग्याउँछ भन्ने विषयले विद्यार्थी आन्दोलनको आगामी दिशा तय गर्ने देखिएको छ।