धरान : रिक्त शिक्षक दरबन्दीमा शिक्षक नियुक्तिको माग गर्दै आन्दोलनमा रहेका विद्यार्थी रोजन शङ्करले फिनेल सेवन गरेका घटना विषयलाई ठुलो विवादको विषय बनाउन सुनियोजित भएको आन्दोलनमा सहभागी विद्यार्थी सौगात विकले कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघालाई बताएको कुराले खुलासा भएको छ ।
सिसिटिभी फुटेजमा देखिएका सौगातसँग कावा प्रमुख बेघासँग प्रश्न गर्दा उनले दिएको जवाफले घटना विषयलाई ठुलो विवादको विषय बनाउन सुनियोजित भएको बुझिन्छ । तर उपमहानगरपालिकाले यसबारे आधिकारिक जानकारी दिएको छैन ।
शुक्रवार धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर राईले धरान-६ को सरस्वती र धरान-११ को ज्ञानोदयका प्रधानाध्यापकलाई बोलाएर शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउन पत्र दिएका थिए। त्यसपछि आन्दोलनको आगामी कार्यक्रमबारे रोजन शङ्करसहित केही व्यक्तिबिच छलफल भएको बाल सञ्जाल अध्यक्ष मानव गदाइलीले बताएका छन् ।
गदाइलीका अनुसार उपमहानगरपालिका परिसरमा छलफल गर्न नमिलेपछि सञ्जिता धमलासहितको टोलीले धरान-६ र धरान-११ का वडा कार्यालयमा तालाबन्दी गर्ने विषयमा बाटोमै छलफल गरेको थियो।
उनले त्यसपछि उपमहानगरपालिका परिसरमा फर्किएपछि फिनेल ल्याउने विषयमा समेत कुराकानी भएको र घटनासम्बन्धी योजना बनेको दाबी गरेका छन् ।
छलफलमा वरिपरि फिनेल छर्किएर  महिमा थोरै फिनेल हालेर खाने अथवा थोरै पेट्रोल छर्किएर आगो लगाउने समेत योजना धमला सहितको व्यक्तिले गरेको  गदाईली बताए । आन्दोलनमा सहभागी विद्यार्थी सौगात विकले रोजनलाई फिनेल दिएको दाबी गरिएको छ। सौगातले फिनेल ल्याएर दिएको कावा प्रमुख अइन्द्रविक्रम बेघालाई बताएका छन् ।
घटनासँग सम्बन्धित सिसिटिभी फुटेजमा फिनेल कसरी रोजनसम्म पुगेको देखिएको छ । सौगात विकले रोजनलाई फिनेल दिएको स्वीकार गर्दै उपमहानगरपालिका परिसरमा फिनेल सञ्जिता धमलाले ल्याएको बताएका छन् ।
सौगातले भने”फिनेल कसले खरिद गर्‍यो, कहाँबाट खरिद गरियो मलाई थाहा भएन उपमहानगरपालिका परिसरबाट रोजन सम्म चैँ मैले आफै ल्याएर दिएको हो ।’
यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सरिन तामाङले आफूलाई सञ्जिता धमलाले फोन गरेर रोजनले फिनेल सेवन गर्न लागेको जानकारी दिएको बताएका थिए। तामाङका अनुसार त्यसपछि उनले रोजनलाई फोन गरेर त्यस्तो नगर्न आग्रह गरेका थिए। त्यस लगत्तै आफू अनशन स्थल पुगेको उनको भनाइ थियो।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले फिनेल उपमहानगरपालिका परिसरमा कसरी पुगेको भन्ने विषय सिसिटिभी फुटेज हेरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएका छन् । फिनेल सेवनपछि बिरामी भएका रोजन शङ्कर सहितका विद्यार्थीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार पछि डिस्चार्ज भएको जनाइएको छ ।