धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ फेसबुकमा स्ट्याटस लेख्दै पार्टीको सदस्यता रसिदमा किर्ते हस्ताक्षर गरेको भनी प्रहरीलाई गुहारी रहेको बेला धरान उपमहानगरपालिका कावा प्रमुख अइन्द्र विक्रम बेघाको सचिवालयले साम्पाङकै श्रमदाता तीर्थबहादुर गुरुङले कर्मचारीमाथि कारबाहीको माग गर्दै उजुरीसँग सदस्यता रसिदको फोटो दिएको खुलासा गरेका छ ।
सचिवालयका अनुसार गुरुङले पछिल्लो एक सातादेखि कर्मचारीमाथि कारबाही हुनुपर्ने भन्दै दबाब दिँदै आएका थिए। कावा प्रमुख बेघा जलवायु सम्बन्धी कार्यक्रममा सहभागी हुन मुस्ताङ गएका बेला पनि यस विषयमा दबाब आएको र ‘कावा प्रमुख आएपछि छलफल गरौँला’ भनिएको थियो ।
त्यसै बिच श्रमदाता गुरुङले दिएको उजुरी सामाजिक सञ्जालमा सार्वजनिक भएको सचिवालयले बताएको छ । आरोपित कर्मचारी राजनीतिक दलसँग सम्बन्धित भएको आरोप झुटो हो भने सम्बन्धित व्यक्ति वा राजनीतिक दलले तथ्य प्रमाण सहित उपमहानगरपालिकामा स्पष्टीकरण दिनुपर्ने सचिवालयले जनाएको छ ।
श्रमदाता गुरुङले दिएको उजुरीमा कर्मचारी पार्टी सदस्य भएको विषयमा सोधपुछ गर्न घण्टाघरका करार कर्मचारी अनुज भुजेललाई उपमहानगरपालिका कार्यालयमा उपस्थित गराइएको थियो ।
सचिवालयले जनाए अनुसार पार्टीको रसिद र सदस्यताबारे प्रश्न गर्दा प्रश्नको जवाफ नदिई ‘मनपरी’ बोली व्यवहार गरेकोले उनलाई कारबाही गरिएको छ ।
सचिवालयका अनुसार सोमबार प्रमुख स्तरीय निर्णयका आधारमा प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर राईले भुजेलमाथि कारबाही गरेका हुन ।
भुजेल विगत चार वर्षदेखि घण्टाघरमा करार कर्मचारी थिए । उनलाई तत्कालीन नगरप्रमुख हर्क साम्पाङले नियुक्त गरेको सचिवालयले जनाएको छ ।
घण्टाघरमा काउन्टर कर्मचारीका रूपमा साम्पाङका ज्वाइँ अभिषेक राईलाई नियुक्त गरिएको र इन्चार्जको जिम्मेवारी अनुज भुजेललाई दिइएको थियो ।








































































