धरान : विद्यार्थीहरूले धरान–११ को ज्ञानोदय मावि र धरान–६ को सरस्वती माविमा लामो समयदेखि रिक्त शिक्षक दरबन्दीमा नियुक्तिको माग गर्दै धरान उपमहानगरपालिका नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 
शिक्षक नहुँदा पठनपाठन अनियमित भएको ले नियमित पठनपाठनको व्यवस्था गर्न माग गर्दै विद्यार्थीहरूले बिहीबार उपमहानगरपालिका घेराउ गरेका हुन । माग पुरा गराउन दबाब स्वरूप उनीहरूले नगरप्रमुखको कार्यालयमा तालासमेत लगाएका छन् । 
विद्यार्थीका साथै बाल सञ्जालका प्रतिनिधिहरू आज बिहीबार साँझ साढे ६ बजेदेखि उपमहानगरपालिका कार्यालयमा अनशनमा बसेका छन् । शिक्षक नियुक्ति नभएसम्म अनशन जारी राख्ने उनीहरूको भनाइ छ ।
बाल सञ्जालको समर्थनमा विद्यार्थीहरू बाल सञ्जालका रोजन शङ्कर, निर्जल भण्डारी, सागर तामाङ र मुक्साङ लिम्बु अनशनमा बसेका छन् । विद्यार्थीका अनुसार ज्ञानोदय माविमा विगत ३ वर्षदेखि माध्यमिक तहका शिक्षक छैन ।
सरस्वती माविमा विगत नौ महिनादेखि सामाजिक विषयको शिक्षक दरबन्दी रिक्त रहेको उनीहरूको भनाइ छ । ज्ञानोदयका विद्यार्थीहरूले शिक्षक अभावसँगै विद्यालयमा खानेपानी, शौचालय र कम्प्युटर ल्याब जस्ता आधारभूत पूर्वाधारको समेत अभाव रहेको बताएका छन् । 
उनीहरूले शिक्षक नियुक्ति सहित विद्यालयका आधारभूत समस्या तत्काल समाधान गर्न उपमहानगरपालिकासँग माग गरेका छन् । 
धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाले विद्यार्थीहरूलाई तेस्रो पक्षले उक्साएको बताए । विद्यार्थीहरूको माग जायज भए पनि विद्यार्थीहरूले उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र वा मागपत्र समेत नराखी एक्कासी तालाबन्दी,अनसन जस्तो सम्बेदशील कदम उठाउनु अनुचित भएको उनको भनाई छ ।
कावा प्रमुख बेघाले आफू बिहीबार इटहरीमा बैठकमा सहभागी हुनुपर्ने भएकाले उपमहानगरपालिकामा उपस्थित हुन नसकेको बताए । उनले भने ‘विगत वर्षदेखि नै शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनका लागि मैले निरन्तर काम गरिरहेको छु ।’ शिक्षक अभावको समस्या समाधान गर्न आफू तत्पर रहेको उनले बताए ।
andolan-1
andolan