धरान : विजयपुर एफएम ९८.८ मेघा हर्ज धरानले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा पहिलो दिन आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमपूर्ण अवस्थामा पनि सामाजिक दुरी कायम गर्दै विजयपुर एफएम ९८.८ मेघा हर्ज धरानले आज रक्तदान कार्यक्रमको आयोजना गरी ५० पिन्ट रगत सङ्कलन गरेको छ । देशैभर रगतको अभाव सिर्जना भएपछि विजयपुर एफएमले आफ्नो १२ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना गरिएको एफएमकी अध्यक्ष तथा प्रबन्ध निर्देशक हिमाल राईले बताइन् । यस्तो विषम परिस्थितिमा व्यक्ति व्यक्ति बिचको सामाजिक दुरी कायम गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताइन् । वीपी प्रतिष्ठानमा रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैकमा रगत अभाव भएकोले रगतको परिपूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

वीपी प्रतिष्ठान धरानको हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवाले अस्पतालमा रगत अभाव भएको भन्दै विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूलाई रक्तदान गर्न आव्हान गरे पनि कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीका कारण स्वतःस्फूर्त रूपमा रक्तदान कार्यक्रम हुन सकेको छैन । यस अवधिमा केही सङ्घ संस्थाहरूले रक्तदान कार्यक्रमको आयोजना गरे पनि अझै सहजता भने आउन नसकेको रक्त सञ्चार सेवाका कर्मचारीहरूले बताएका छन् ।

धरान १० स्थित रहेको यलम्बर भवनको सभा हलमा रक्तदाताहरूले स्वःस्फुर्तका साथ सहभागिता जनाई रक्त दान गरेका थिए । कोरोना भाइरस सङ्क्रमणको जोखिमपूर्ण अवस्थामा रक्तदान आयोजना गर्न सामाजिक दुरी, प्राविधिकहरूलाई सुरक्षित सामाग्री सहित पूर्व तयारी गरी रक्तदान गरिएको थियो । भोलि भदौ २६ गते विजयपुर एफएमको रेडियो लाइभ मार्फत राष्ट्रिय तथा स्थानीय कलाकारले साङ्गीतिक प्रस्तुति दिने छन् ।