धरान : दशैं, तिहार नजिकिँदै गएको बेला झापा, मोरङ, सुनसरीको सीमावर्ती क्षेत्रमा भन्सार छलेर बजारमा आवश्यक उपभोग्य सामाग्री भित्र्याउने व्यापार बढेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बुधवार जनाए अनुसार विराटनगर भन्सार छलेर ल्याउँदै गरेको रजनीगन्धा समेत करिब १ लाख ६२ हजार ६१० रुपैयाँ मूल्य बराबरको उपभोग्य बस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । ती वस्तुहरूमा चकलेट, नरिवल, काजु लगायत खाद्य सामग्री छन् ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा–५ बाट भन्सार छलेर ल्याएको कुर्था सुरुवाल, बच्चाको जामा, भेष्ट र मोजा सहित करिब ४ लाख ९ हजार ४६० रुपैयाँ मूल्य बरावरको कपडा बरामद गरेको छ ।
प्रहरीले विराटनगर-९ बाट बिल बिजक नभएको करिब २ लाख ७० हजार मूल्य बरावरको ५४० केजी सुपाडि नियन्त्रणमा लिएको छ ।
चेकजाँचकै क्रममा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले विराटनगर–६ बाट भन्सार छलेर ल्याएको करिब ५० हजार मूल्य बरावरको कुर्था सुरुवाल नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको शिवगञ्ज इलाका प्रहरी कार्यालयले करिब ११ हजार ४ सय बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।









































































