इटहरी : क्रिश्चियन धर्म सम्बन्धी तालिम तथा प्रचारप्रसारमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियन नागरिक पक्राउ परेका छन् । धर्म प्रचारमा संलग्न भएको भन्दै शुक्रवार मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ मालती मार्गबाट पक्राउ गरिएको हो ।
क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यु कोभेनन्ट कलेज’ मा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका कोरिएन नागरिक गत असोज २० र २१ गते पर्यटन भिसामा काठमाडौँ हुँदै विराटनगर आइपुगेका हुन् । 
उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमै बस्ने तयारीमा रहेका उनीहरू धर्म प्रचार गर्ने मूल उद्देश्यले आएको पाइएको छ । 
पर्यटक भिसामा नेपाल आएर धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसारमा संलग्न हुन नपाउने कानुनी प्रावधान विपरीत गतिविधि गरेको पाइएपछि प्रशासनले नियन्त्रणमा लिएको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पर्यटक भिसामा आएर अध्यागमन कानुन विपरीत गतिविधि गरेको स्थानीयको उजुरीका आधारमा पक्राउ गरिएको हो । 
प्रशासनले विगत दुई दिनदेखि सूक्ष्म निगरानी  राखेको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भिसाको उद्देश्य विपरीतका धार्मिक कार्यमा संलग्न रहेको देखिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।