धरान : ३०औँ विश्व अण्डा दिवसको अवसरमा धरान–११ स्थित श्री अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयमा शुक्रवार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घ, सुनसरी-मोरङ कार्यसमितिको आयोजना तथा विद्यालयको समन्वयमा आयोजित कार्यक्रममा अण्डाको पोषण, स्वास्थ्यमा यसको महत्त्व र नियमित सेवनबाट हुने फाइदाबारे विराटनगरबाट आएका चिकित्सकले जानकारी गराएका थिए।

धरान उपमहानगरपालिका-११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिकेश विश्वकर्मा, वडा सदस्यहरू रविन गुरुङ र सङ्गीता लोहनी, वडा सचिव, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयसँग समन्वय गरी कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्ने सङ्घका सदस्य तथा कार्यक्रम संयोजक संजहाङ सावा लिम्बूलाई विशेष धन्यवाद व्यक्त गरिएको थियो। कार्यक्रममा सङ्घका कोशी प्रदेश महासचिव धनशेर लिम्बूको समेत सहभागिता रहेको थियो।

विद्यालय बिदा हुनुअघि आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माले दसैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए। अण्डाको नियमित सेवनबाट प्राप्त हुने पोषणबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वाससमेत व्यक्त गरिएको थियो।