इटहरी : रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव सहित सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनियमिततामा यादवको संलग्नता देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत रहँदा यादवले परीक्षामा सहभागी नभएकालाई समेत लाइसेन्स उपलब्ध गराएको बताइएको छ ।
लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नभएका र परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई समेत उत्तीर्ण भएको देखाएर सवारी चालक अनुमतिपत्र जारी गराएको अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीका सिलसिलामा जापानमा भएका व्यक्तिलाई नेपाल नफर्किएको अवस्थामा समेत लिखित र प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराएको अख्तियारको दाबी छ ।
२०७८ कात्तिक १७ गते जे–१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको र ती व्यक्ति २०७७ मङ्सिर २५ गते जापान गएको र २०८३ भदौ ८ गतेसम्म नेपाल फर्किएको नदेखिएको आयोगले जनाएको छ । सोही प्रकृतिको तीन जनालाई जे–१ वर्ग र चार जनालाई जे–२ वर्गको सवारी चालक अनुमतिपत्र प्रदान गरिएको थियो ।
रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, तत्कालीन मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, सातौँ तहका तत्कालीन अधिकृत तुल्सीराम अधिकारी र छैटौँ तहका तत्कालीन अधिकृत राजीव अर्यालविरुद्ध आरोपपत्र दायर गरेको छ ।
त्यसैगरि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेय, प्रहरी निरीक्षक गणेश ज्ञवाली र प्रहरी नायब निरीक्षक हुमानन्द खनालविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र १३ बमोजिमको कसुरमा सोही ऐनका सम्बन्धित व्यवस्थाअनुसार कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।









































































