सुनसरीको सदरमुकाम भएर पनि भौतिक तथा मानवीय विकासमा पछाडि परेको इनरुवा नगरपालिकाले पछिल्लो समय मुहार फेर्न थालेको छ । साँघुरा सडकहरू फराकिला बन्दै गएका छन् भने गाउँ र बजार बिचको सम्पर्क सहज बन्दै गएको छ ।
त्यसका अलावा स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भइसक्दा इनरुवाले के पायो ? सुनसरीको सबैभन्दा पुरानो बजार अझैसम्म किन अविकसित अवस्थामा रह्यो ? इनरुवाको विकास नहुनुको पछाडि कस्ता कारणहरू छन् भन्ने विषयमा इनरुवा नगरपालिकाका मेयर राजन मेहता सँग विनय बाह्रकोटीले गरेको कुराकानी :
सुनसरीको सदरमुकाम भए पनि लामो समय इनरुवाको विकास हुन नसक्नुको खास कारण के हो ?
- सदरमुकाम मात्र भएर भएन सदरमुकाम चिन्ने मान्छे पनि चाहियो । यहाँ लामो समय कर्मचारी मात्र बसे । जनताको नेताले इनरुवा चलाउन पाएन पहिलो कुरा । दोस्रो कुरा सदरमुकाम भए पनि उद्योगी व्यवसायीहरू कर तिर्नुपर्छ भनेर सबै गाविस तिर गए । करको कारणले गर्दा व्यवसायीको आकर्षण भएन । यहाँको समाज एकदमै कन्जर्भेटीभ खालको छ । एकदमै पुरातन समाज छ । समाजको चेतना स्तर पनि त्यो अवस्थामा पुगेको छैन । यस्तै यस्तै कारण इनरुवा सहर बन्न सकेन ।
जनताको चेतना बढाउने काम तपाईँहरूको हैन रु त्यसको लागी के गर्दै हुनुहुन्छ ?
- हामी लागेका छौ । तर मेन कुरा जनता नै जाग्नुपर्ने रहिछ । यहाँका जनता नगरपालिकाको मात्र मुख ताक्ने खालका छन् । सडक देखी सरसफाइ सम्म जनताको लगानी चाहिन्छ । जनताको लगानी बिना कुनै पनि काम सम्पन्न हुँदैन र जनताले अपनत्व महसुस गर्दैनन् त्यसैले हामी जनताको पनि लगानी हुने गरी विकास गर्दैछौ । अब जनताको उपस्थिति हुने गरी विकासका नयाँ अभियान सुरु गर्ने तयारीमा छौ । जसले गर्दा जनता सचेतना समेत अभिवृद्धि हुनेछ ।
इनरुवाको अधिकांश जमिन र जनता कृषिमा निर्भर छन् । त्यसको विकासमा कस्तो लगानी गर्दै हुनुहुन्छ ?
- व्यवसायीक कृषि प्रवर्द्धन लागी हामी गुरु योजना बनाउँदै छौ । सङ्घीय सरकारले यस विषयमा खास कार्यक्रम दिनुपर्ने हो । त्यो सकेको छैन । मेरो हजुरबा देखी मेरो पाला सम्म मल र बिउकै अभाव छ । खासमा भन्दा स्थानीय सरकार सँग कृषि क्षेत्रमा ठुलो लगानी गरेर काम गर्ने क्षमता र कानुनको पनि अभाव छ । सामान्य अनुदान दिने र बिउ दिने देखी बाहेक गर्ने अवस्था छैन । तथापि हामीले बाख्रा, भैँसी पालनमा प्रोत्साहनको काम गरिरहेका छौ ।
शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारमा के योजना छ ?
- वास्तवमा शिक्षा र स्वास्थ्य भनेको राज्यले निःशुल्क गर्नुपर्ने हो । गुणस्तरीय शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार पनि हो । तर खै के भन्ने के नभन्ने, इनरुवामा जिल्ला अस्पताल छ तर त्यो प्रदेश मातहत छ । त्यहाँ पनि राम्रो सेवा सुविधा छैन । आज लोकतन्त्र आएको कतिबर्ष भयो । कुनै एउटा सफारी चलाउने को छोरो डाक्टर भएको छ ? कुनै जुत्ता सिलाउनेको छोरो इन्जिनियर पढ्न सकेको छ ? छैन भने अब जुत्ता सिलाउनेको छोराछोरीले डाक्टर पढ्न सक्ने वातावरण बनाउनुपर्यो ।
जब सम्म शिक्षा र स्वास्थ्यमा राजनीति हुन छाड्दैन र त्यसको गुणस्तर बढाउन लागिँदैन, तब सम्म विकास हुँदैन । पञ्चायत देखी गणतन्त्र आउँदा सम्म एउटै कर्मचारीले नेतृत्व गरिरहेको छ । त्यो बेला देखी नै एउटै कार्यक्रम हरू छन् । अनि कसरी हुन्छ विकास ?
बाँकी कार्यकालको योजना के छ ?
- अघि तपाईँले भनेजस्तै इनरुवालाई कृषि उत्पादन र बजारीकरणको केन्द्र बनाउन हामी लागी परेका छौ । गुरुयोजना नै बनाएर काम गर्दैछौ । पुराना गाभिएका गाविसहरूमा सडक पूर्वाधारको विकास पुर्याउँदैछौ । त्यसको माध्यम बाट गाउँमा उत्पादित कृषि उपज उत्पादनलाई बजार सम्म ल्याउने र बाहिर पुर्याउने काम गछौ । त्यसको जिम्मा नगरपालिकाले लिन्छ ।
यस बिचमा २० किलोमिटर ड्रेन सहितको बाटो बनायौ । धेरै साँघुरा बाटाहरू फराकिला बनायौ । युवाहरूलाई अगाडी बढाएर धेरै काम भएका छन् । इनरुवामा धेरै काम गर्न बाँकी छन् । हामीसँग प्राकृतिक रूपमा आम्दानी हुने कुनै साधन छैन ।
खेलकुदको माध्यमबाट काम भइरहेका छन् । खेलाडी उत्पादन गर्ने र खेलकुद आयोजना गरेर व्यापार बढाउने हो । मलेसियाको टिम आएर इनरुवामा क्रिकेट खेलेर गएको छ । अब भनेको कृषि, खेलकुद र भौतिक पूर्वाधारमा हामी विशेष रूपले अगाडी बढ्छौ ।