इटहरी : कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । उनीहरुमध्ये ३२ जना पत्रकारहरुलाई कोरोना लागेको थियो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार ३२ जनामध्ये हालसम्म सातजना पत्रकारहरुलाई बीमा बापतको रकम उपलब्ध गराईसकिएको छ । ‘दशैैँ अगाडि नै एकजना पत्रकारलाई एकलाख रुपैँया उपलब्ध गराईएको थियो,’ अधिकरीले भने, ‘आज ६ जना कोरोना पीडित पत्रकारहरुलाई जनही एक लाखका दरले रकम हस्तान्तरण गरिएको हो ।’

उनले पत्रकारहरु पनि व्यवसायिक हुनुपर्ने तर्क गर्दै भने, ‘यो रकमले कुनै फजुल खर्च हुनुभन्दा पनि राम्रो ठाउँमा सदुपयोग होस् र व्यवसायिक हुन सकियोस् भन्ने शुभकामना छ ।’ बाँकी २५ जनाको रकमका लागि बीमा कम्पनीसँग सहकार्य भईरहेको र पुषभित्रमा अन्य पत्रकारहरुको पनि रकम उपलब्ध गराइने उनको दाबी थियो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले युनियन सुनसरीले गरेको उक्त कामको प्रशंसा गरे । ‘चाहे फुड बैँक सञ्चालनमा होस् वा पत्रकार बिरामी पर्दा अस्पतालमा छुट गर्नमा होस् हरेक काम ऐतिहाँसिक छ,’ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले भने, ‘यो ऐतिहाँसिक कामका लागि सकारात्मक चर्चा गर्नैपर्छ ।‘

कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका पूर्व अध्यक्ष महेन्द्र काफ्लेले देशैभरीका अन्य संगठनहरुले प्रेस युनियन सुनसरी शाखाले गरेको काम सिक्न आवश्यक रहेको बताए । ‘देशैभरीका अन्य संगठनहरुले पनि पत्रकारका लागि आवश्यक परेका कुराको काम गर्न जरुरी छ,’ उनले भने, ‘यो कामको अनुशरण सबैले गर्न आवश्यक छ ।’

कोरोना पीडित धरानका पत्रकार केदार बस्नेतले भने प्रेस युनियनले एकलाख रुपैँया हस्तान्तरण गर्नु सराहनीय रहेको बताए । उनले युनियनले गरेको गुन तिर्नै नसकिने रहेको भन्दै प्रशंसा गरेका थिए । त्यस्तै, दुहवीका कोरोना पीडित पत्रकार चन्दन रौनियारले भने आँफूले कोरोना बापत पाएको एकलाख रुपैँयाले व्यवसाय सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘पत्रकारितालाई मात्रै पेशा बनाएर बाँच्न कठीन भएकाले यो पाएको रकमले केही व्यवसाय गर्ने तयारी गरिरहेको छु ।’

यसअघि बिराटनगरको नोबेल हस्पिटलसँग प्रेस युनियन सुनसरी शाखाले पत्रकारहरुका लागि बिरामी भएको अवस्थामा कुल लागेको लागतको ५० प्रतिसत छुट गर्ने सम्झौता समेत गरिसेको छ । त्यस्तै, यसअघि कोरोना महामारीले मुलुक लकडाउनको अवस्थामा रहेका बेला फुड बैँक समेत सञ्चालन गरेको थियो ।