विराटनगर : प्रदेश १ मा सिमसारै-सिमसार भएको भएको स्थानीय तह बेलबारी हो ।
२१ वटा सिमसार बेलबारी भित्र मात्रै छन् । झण्डै २ दर्जन नगरभित्र रहेकाले बेलबारीलाई सिमसारको राजधानी बनाउने योजनाका साथ नगरपालिकाले कार्य अघि बढाएको छ ।
बेलबारी भित्र रहेको बेतना सिमसार पूर्व क्षेत्रमा चर्चित सिमसार क्षेत्र हो । बेतनामा विभिन्न प्रकारको चराचुरुङ्गीहरू, वन्यजन्तु, घस्रने जनावरहरू पाउनुका साथै यिनीहरूको संरक्षण पनि गरिँदै आएको छ ।
बेतना सिमसारमा एकै दिनमा दुई हजार भन्दा बढी मानिसहरू घुमफिर गर्न आउने गर्दछन् । इलाम, धरान, विराटनगर, इटहरी आदि ठाउँबाट दैनिक रूपमा मानिसहरू आउने गरेको बेतना सिमसार संरक्षण समितिले बताएको छ ।

बेतनाका कारणले पनि पर्यापर्यटनको राम्रो सम्भावना सिमसारमा देखिएकाले नगरपालिकाले योजनाबद्ध रूपमा चालु आर्थिक वर्षदेखि सिमसार क्षेत्रको पूर्वाधार विकासको काम सुरु गरेको छ । सिमसार अध्ययन कार्यदल गठन गरी कार्यदलको सुझाव अनुसार नगरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
अध्ययन कार्यदलले दिएको सुझाव अनुसार २१ वटै सिमसारको विकास गरिने उनले बताए । पर्यटन प्रर्बद्धनका लागि चालु आर्थिक वर्षदेखि अमना सिसौली सिमसार, धनपालगढी सिमसारको डिपीआर अनुसार बहुबर्षिय परियोजनाका रूपमा निरन्तरता दिने गरी काम अघि बढेको नगर प्रमुख सुवेदीले बताए ।
५ करोड बजेट विनियोजन गरेर काम अघि बढेको उनको भनाई छ । बेलबारी नगरपालिकामा रहेका धेरैजसो सिमसारहरू निकै सुन्दर, अलगअलग विशेषता भएका तथा महत्त्वपूर्ण छन् । यिनीहरू सबै पर्यटकीय क्षेत्रका रूपमा परिचित रहेको नगर प्रमुख सुवेदीले बताए ।
पर्यटकीय क्षेत्रको पहिचान सँगै पानीको स्रोतको समेत पहिचान गर्ने गरी काम अघि बढाइएको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदीलेले बताए । पर्यटकीय सँगै नगर क्षेत्र भित्र बाझै रहेका खेती योग्य जमिनमा सिँचाइको समेत व्यवस्थापनको काम भइरहेको उनले बताए ।
अध्ययन अनुसार २१ वटा सिमसारको सम्भावना सहितको सुझाव नगरपालिकालाई दिइएको कार्यदल सदस्य स्नातकोत्तर क्याम्पसका उपप्राध्यापक तथा वातावरण विज्ञ रामचन्द्र अधिकारीले बताए ।
सबै सिमसारहरूको अन्तरसम्बन्ध स्थापना गरी एकीकृत पर्यटन योजना बनाउन, हात्ती सफारी, जङ्गल सफारी,घोडा टाँगा सफारी,गोरुगाडा,उँटलगायतका साधनहरूमार्फत सबै सिमसार घुम्ने किसिमको रुट बनाउन,जातीय पहिचान खुल्ने किसिमका आकर्षणहरू तयार गरी सांस्कृतिक पर्यटनलाई प्रोत्साहित गर्ने गरी सुझाव दिइएको अधिकारीले बताए । कार्यदलको सुझाव अनुसार नगरपालिकाले कार्य गरे पर्यापर्यटनको राम्रो सम्भावना रहेको उनको भनाई छ ।
कतिपय मानिसहरूले सिमसारलाई बेकामे जमिन भनेर हेयको भावनाले भन्ने गरेको पाइएको छ तर वास्तवमा यी बेकामे जमिन नभई प्रकृतिका अमूल्य उपहार भएको अधिकारीको दाबी छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने सहरहरूलाई चिरेर बग्ने साना तर सदाबहार नदीहरूलाई सहर बसाल्न लागी परेका व्यवसायीले खुम्च्याएर राखेका छन् अनि त्यस्ता ठाउँमा घर बनाई बसेर सहरिया बनेका मानिसहरूले तिनीहरूलाई दूषित बनाइदिएको वातावरण विज्ञ अधिकारीले बताए ।
बेलबारी क्षेत्रभित्र बेतना, अमना, सिसौली, धनपालथान, धनपालगढी, झलझली बाँध, हाँडी दह, भुलभुले महाराज थान भव, जाल्पादेवी भव, कुइरीखोला, मखन पोखरी, गयल पोखरी लगायतका सिमसारहरू छन् ।










































































