धरान : सहरी फोहोरलाई धरानमा आउँदो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गरिने निर्णय भएको छ ।

धरान उपमहानगरका प्रमुख तिलक राई, प्रशासन शाखा प्रमुख विदुर खनाल, वातावरण शाखा प्रमुख भेषराज घिमिरे र वातावरण निरीक्षक राजु चौहान, भेन्चर वेस्टु इनर्जी प्रा।लि।का निर्देशक विपुल राज पाण्डे र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र प्रदेश एकका इन्जिनियर सुजन पौडेल सहित आज भएको संयुक्त छलफलले सहरी फोहोरलाई आउँदो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गर्ने निर्णय गरेको हो ।

कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने मेशिन (सेक्रिगेटर) एक हप्ताभित्रमा इन्डियाबाट ल्याइने बताइएको छ । त्यो सेक्रिगेटर मेशिन आइपुगेपछि फोहोरलाई प्रारम्भिक प्रशोधन गरिनेछ । धरानको अव्यवस्थित फोहोर प्रयोग गरी ऊर्जा उत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको फोहोरलाई प्रशोधन गरिने भएको हो ।

२०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र भेन्चर वेस्ट टु ईनर्जि प्रा।लि।बिच त्रिपक्षीय सम्झौता भएको धरान ६ स्थित पानवारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

Phohor-Prasodhan

फोहोरलाई मोहरको रूपमा परिणत गर्न तथा सफा, स्वच्छ र सुन्दर सहर बनाउन सम्झौता अनुसार काम भइरहेको जनाएको छ । अहिले फिडिङको काम भइरहेको छ भने सिभिल संरचनाको कार्य पूर्ण रूपमा सम्पन्न भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र भेन्चर वेस्ट टु इनर्जी कम्पनीका अनुसार प्रशोधन केन्द्रमा सहरी फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन गर्ने र अर्ग्यानिक मल उत्पादन गरिनेछ ।

नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २० प्रतिशत र विश्व बैङ्कको २० प्रतिशत अनुदान रहेको छ भने भेन्चर वेस्टु इनर्जी प्रा।लि।को ६० प्रतिशत लगानी रहेको छ ।