झापा : नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हडतालका कारण झापा लगायत देशैभरको जनजीवनमा असर पर्यो ।
मुख्य सहरहरूमा बिहानैदेखि सार्वजनिक सवारी, पसल व्यवसाय ठप्प बने । सरकारका विभिन्न कदम विरुद्ध आन्दोलनमा होमिएको दलले जनताको मुक्तिका लागि भनेर घोषणा गरेको बन्दले जनतालाईनै असर पुर्याएको प्रति भने नेताहरूले वास्ता गरेनन् । तर, बन्दले गरिखाने वर्गका नागरिकलाई गम्भीर असर पुर्याएको छ ।
दमक चोकमा एका बिहानै भेटिए ट्रक चालक रोशन उप्रेती । बन्दका विषयमा उनलाई सोध्न नपाउँदै रुन्चे स्वरमा उनले सोधे, “बालबच्चा पाल्नु कि पार्टीका नेताको बन्दलाई समर्थन गर्नु रु” उनको यो रोदन त केबल गरिखाने वर्गको समस्याको एक प्रतिनिधिमूलक घटना मात्र थियो ।
उनीजस्ता लाखौँ नागरिक जो दिनभरि कमाएर बेलुकाको छाक टार्ने गर्छन् । उनीहरूको साझा आवाज बने रोशन खरेल । उनीजस्तै बिर्तामोडमा अटो चलाएर जीविकोपार्जन गर्दै आइरहेका अटो चालक निरबहादुर शेर्पाको पनि पीडा उस्तै थियो । उनी पनि सोध्दै थिए, “हिजो हामीले नेतालाई साथ दियौँ, आज हामीलाईनै गरी खान नदिने ?”
गौरादहका बद्री सङ्ग्रौलाको आक्रोश पनि कमको थिएन । उनी पनि नेताहरुको यस्तो प्रवृत्ति देखेर दिक्क भएको बताउँदै थिए । उनी यस्तो घिन लाग्दो राजनीति बन्द गर्न नेताहरूलाई सुझाव दिन्छन् ।
“हिजो उनीहरूलाई सहयोग गरेर पठाउँदा आज हामीले के पायौँ त रु” उनको प्रश्न छ । “जब नेताहरू कुर्सी गुमाउँछन् अनि मात्र कार्यकर्ता सम्झन्छन् । ” उनको आक्रोश मिश्रित जबाफ आइरहेको थियो ।
तर, बन्दकर्ताहरु भन्छन्, यो रहर हैन बाध्यता हो । बिहीबार को बन्द कर्ता दल प्रचण्ड माधव समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रूपमै बन्द रहर नभई बाध्यता भएको जिकिर गरेका छन् ।
चाहे जे होस् । यसरी जनताको मुक्तिको नाम दिएर गरिने बन्द र हडतालले अन्त्यमा पाइने के होला त भनेर जनतानै सोधिरहेका छन् ।
कोभिडको डरले ८ महिनाभन्दा बढी घरभित्रै थुनिएका नागरिकलाई फेरी यस्ता बन्द र हड्तलले कस्तो प्रभाव पार्छ भन्ने विषयमा बन्दकर्ताहरुले सोच्नुपर्छ ।
नागरिक आन्दोलन, बन्द र हडताल भन्दा पनि विकास र राजनीतिक स्थिरताको पक्षमा देखिन्छन् । तसर्थ बन्दको विकल्प खोजिन आवश्यक छ ।