धरान : पत्रकार स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ र समाजमा सधैँ नराम्रो कामको खबरदारी र राम्रो कामको प्रवर्द्धन पत्रकारले गर्नुपर्छ ।
पत्रकारिताको माध्यमबाट देश र जनतालाई सुसूचित गराई देश र समाजलाई मार्गनिर्देश गर्नुपर्नेमा पछिल्लो समय पत्रकारहरू आफै नेताको झोला बोक्ने भएपछि अहिले निष्पक्ष पत्रकारिता हराउँदै गएको छ ।
पत्रकार भन्ने बित्तिकै कुन पार्टी र कुन नेताको नजिकको हो भनेर सोधीखोजी हुन थालेको छ । यस्तै आभास शुक्रवार सम्पन्न नेपाल पत्रकार महासङ्घ सुनसरीको १२ औँ वार्षिक साधारण सभामा पनि देखियो ।
महासङ्घको उद्घाटन सत्र निर्धारित समय भन्दा केही ढिलो गरी सुरु भएको थियो । उद्घाटन सत्रमा बोल्ने अतिथि र पत्रकार महासङ्घ सँग सम्बन्धित सबैले अहिलेको समसामयिक राजनीतिक विषय बस्तुमै आफ्नो भनाइहरू राखे ।
महासङ्घका नेतृत्वहरुले पनि पत्रकारिताको मूल्य मान्यता भन्दा पनि अहिलेको नेपाली राजनीतिमा देखिएको समसामयिक विषय वस्तुमै आफ्नो समय खर्चे । यो सबै हेर्दा पत्रकार महासङ्घको बर्षिक साधारण सभा होइन कुनै राजनीतिक दलको कार्यक्रम भइरहेको सहजै आभास देखिन्थ्यो । जसोतसो उद्घाटन सत्र सकियो । सुरु भयो बन्दसत्र ।
जब बन्दसत्र सुरु भयो, नेकपाका दुई खेमाका पत्रकारहरूबाट बन्द सत्रको अध्यक्षता र टिप्पणी समितिमा राखिएकाहरूको बारेमा प्रश्न उठ्न थाल्यो । एउटा समूहले यति सङ्ख्याको हुनुपर्ने र अर्को समूहले पनि आफ्नो दाबी कायम राख्ने होडबाजी चल्यो ।
अन्ततः नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण कार्कीलाई बन्द सत्र चलाउनै हम्मे हम्मे भयो । नेकपाका दुई खेमा ओली र प्रचण्ड-माधव समूहका पत्रकारले महासङ्घको बन्द सत्रमा रमिता नै देखाउन थाले।
एकले अर्काको कुरालाई प्रतिवाद गर्ने र विरोध गर्ने क्रम जारी रहयो । जसो तसो बन्दसत्रमा सचिव हिमाल दाहालको वार्षिक प्रतिवेदन प्रस्तुत भयो तर सचिवको प्रतिवेदनमा केन्द्रित रहेर कसैले पनि कुरा राखेनन् । आ-आफ्नो राजनीतिक दलको मुद्दा र एजेन्डालाई बढी फोकस गरेर बोले ।
निकै वादविवाद पछि सचिवको प्रतिवेदन पारित भयो । कोषाध्यक्ष गोविन्द बस्नेतको प्रतिवेदन सहजै पास भयो । कसैले प्रतिप्रश्न गरेनन् । त्यस पछि टिप्पणी समूहबाट वरिष्ठ पत्रकार भवानी बरालले महासङ्घको साधारण सभाले घोषणा गरेको बुँदा पढेर सुनाउन थाले फेरी नेकपाका दुई खेमाका पत्रकारहरू जुरमुराएर आ-आफ्नो पक्षका धारणाहरू राख्न थाले ।
जब बरालले टिप्पणी समितिले तयार गरेको बुँदा पढेर सुनाउने बित्तिकै ओली पक्षका पत्रकाहरुले असहमति जनाउँदै बन्द सत्र छोड्ने भन्दै कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
यती सम्म देखियो कि नेपाल पत्रकार महासङ्घको कार्यसमितिमा बसेकाहरू समेतले ओली पक्षको विचारको समर्थन गर्दै प्रचण्ड-माधव समूहको विरोधमा उत्रिएको देखियो । महासङ्घको कार्यसमितिलाई यत्ति सम्म थाहा थिएन की बन्दसत्रमा कार्यसमितिले गरेको काम र निर्णयको बारेमा बन्द सत्रमा सहभागीहरूले प्रश्न राख्दा मात्रै उत्तर दिन पाउँछ तर त्यसरी आफ्नै समितिले तोकेको समितिले निर्णय गरेको विरुद्ध विरोध गर्नु हुँदैन भनेर ।
यो सब हेर्दा अव पत्रकार निष्पक्ष र स्वतन्त्र रहेनन् । नेकपाको फुटको राजनीतिले सुनसरीका पत्रकारहरूलाई पनि गज्जबले प्रभावित पारेको पाइयो ।
विशेष गरेर नेकपाका दुई खेमा ओली पक्ष र प्रचण्ड-माधव समूहका पत्रकारहरूले खुलेर एकले अर्काको विरोध गरेका थिए । यसरी पत्रकारले दलको झोला बोकेर पत्रकारिता गर्छ भने अव पत्रकारले निष्पक्ष समाचार कसरी लेख्लान् ? यहाँनेर गम्भीर प्रश्न उठेको छ ।
नेपाल पत्रकार महासङ्घको आचारसंहिताको पूर्ण पालना गरेर पत्रकारिता गर्ने पत्रकार अव पाउन मुस्किल भएको छ । त्यसैले नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घमा घुसेको पत्रकारिता नभई पाटीकारिताको अन्त्य हुन अत्यन्तै जरुरी भएको छ । यदि यसो भएन भने नेपाली पत्रकार र पत्रकारिताको अवस्था के होला ?
बन्दसत्रको समापन हुनुपर्नेमा नेकपाका दुई खेमाका पत्रकार बिच चर्काचर्की हुन थाले पछि महासंघका अध्यक्ष अमर खडकाले बादविवाद गर्नेहरुलाई बस्न आग्रह गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बालाई आफ्नो धारणा राख्न दिएका थिए ।