झापा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशको अबको राजनीतिक परिवेश समाधानका लागि काँग्रेसको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

बुधवार नेपाल प्रेस युनियन झापा शाखाद्वारा बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य डा. कोइरालाले सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णय पछि निम्तिएको राजनैतिक सङ्कटको निकासका लागि काँग्रेसले अगुवाइ लिनुपर्ने धारणा राखे ।

यस्तै उनले अबको निकास भनेको निर्वाचन नै रहेको जिकिर गरे । अबको १ वर्षभित्रमा निर्वाचन नभए देशै धरापमा पर्ने अवस्थामा पुगेको उनले बताए ।

निर्वाचनको नेतृत्व काँग्रेसले लिनुपर्नेमा जोड दिँदै उनले काँग्रेसले मात्र निष्पक्ष निर्वाचन गराउने दाबी समेत गरे । पत्रकार सम्मेलनमा काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरे, केन्द्रीय सदस्य सरिता प्रसाईँ, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, लोकराज ढकाल लगायतले बोलेका थिए ।