धरान : बालबालिकाको स्वास्थ्य परीक्षणको लागि आयोजित स्वास्थ्य शिविरमा अन्य उमेर समूहका सहित कुल १३५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको हो ।
शिविरमा प्रतिष्ठानका उपकुलपति प्राडा. स्मृति कार्की, रेक्टर प्राडा शिवेन्द्र झा,रजिस्ट्रार सहप्राध्यापक धरणीधर बराल र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बू सहितको उपस्थिति थियो । 
बाल दिवसको अवसरमा वडा बाल सञ्जालले धरान–११ वडा कार्यालयमा मङ्गलवार स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा विशेष गरी बालबालिकाको दाँतको समस्या तथा अन्य स्वास्थ्य समस्याको परीक्षण गरिएको सञ्जालले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो । 
‘स्वस्थ बालबालिका,समृद्ध भविष्य’ नारा सहित बाल सञ्जालद्वारा सञ्चालित शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो । वडा बाल सञ्जालका अध्यक्ष रोशन शंकरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोले शिविरमा सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।
शिविरको कार्यक्रम बिच ‘बाल प्रतिभा’ पुस्तक विमोचन तथा सम्मान र बधाई ज्ञापन गरिएको थियो ।