धरान : पछिल्लो नेपाली चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि प्रदर्शनमा आएको छ । फिल्म गोर्खा सैनिकको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र भावनात्मक विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । 
धरान पूर्व गोर्खा सैनिक लाहुरेको शहर भएकोले स्वाभाविक रूपमा यसको लक्ष्यीत बजार पनि मानिएको छ । फिल्मको प्रचार प्रसारका लागि बुधवार धरान आइपुगेका निर्देशक माओत्से गुरुङ भन्छन्, फिल्मको प्रमियिर हेरेर कलाकार, साहित्यकारबाट आउने प्रशंसाभन्दा हल सम्म फिल्म हेर्न आउने दर्शकको प्रतिक्रिया महत्त्वपूर्ण हो । 
त्यसैले उनमा धरानका ‘पेन्सन पट्टा’को वास्तविक दर्शकको प्रतिक्रिया सुन्ने उत्कट इच्छा छ । उनले भने “एक–दुई जनाले राम्रो भन्दैमा फिल्म हिट हुँदैन, दर्शकले हलमा गएर हेरेर अनुभूति गरेपछि मात्रै राम्रो–नराम्रो छुट्टाउँछन् ।” 
उनका अनुसार फिल्मको कथा सार गोर्खा सैनिकको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या,पारिवारिक सम्बन्ध र भावनात्मक सङ्घर्ष चलचित्रमा उतारिएको छ । उनले भने ‘धन,सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध,त्याग र आत्मिक सन्तुष्टिलाई प्राथमिकता दिएको छ ।’
याक्थुङ चलचित्र सङ्घका अध्यक्ष नवीन मेन्याङ्बोका अनुसार ‘पेन्सन पट्टा’ नेपाली माटोको कथा हो । फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ,वल्सिन विक्रम राई,बुद्धि तामाङ,पशुपति राई, विश्वास गुरुङ र माया गुरुङ लगायतको अभिनय छ ।
मीन कोन्मे गुरुङ सकिलेस,भोजबहादुर गुरुङ युके,माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्मका डीबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिको छायाङ्कन तथा सुरज तमुको कास्टिङ रहेको छ ।