इटहरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तरगत वडा अधिवेशन भइरहेको छ । इटहरीका २० वटै वडामा वडा अधिवेशन सकिए पनि क्षेत्रीय प्रतिनिधि र वडा सभापति चयनलाई लिएर विवाद देखिएको हो । केही वडामा निकट व्यक्तिलाई प्रतिनिधि र पदाधिकारी बनाइएको भन्दै कार्यकर्ताहरू आक्रोशित छन् ।

इटहरीमा ७ मा ४ गतेलाई तोकिएको अधिवेशन सभापतिको निर्वाचनको कारण स्थगित भएको थियो । निर्वाचनको सम्पूर्ण तयारी गरेको निर्वाचन समितिले नगर समितिको दबाबको कारण मतदान गराउन सकेन । मतदान गराउँदा पार्टीमा गुटगत असर पर्ने भन्दै नगर सभापति हेमकर्ण पौडेल लगायत नगरका पदाधिकारीहरूले सर्वसम्मत नेतृत्व चयनको पहल गरेका हुन् ।

वडा सभापतिका दाबेदारले सर्वसम्मत नेतृत्व चयन गरेर लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरिएको गुनासो गरेका छन् । ७ नम्बर वडा सभापतिका आकाङ्क्षी वसन्त कार्कीले उम्मेदवार नै बन्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘राजनीतिक कद बढाउने चक्करमा नगर समितिले मिलाउने खेल देखाई मतदान हुन नदिएर वडा नम्बर ७ का कुनै व्यक्तिको राजनीति नै समाप्त पार्ने महान्  कार्य सम्पन्न गरेकोमा नेपाली काँग्रेस इटहरी नगर समितिलाई र वडाका नेता गणहरूलाई मुरी मुरी धन्यवाद,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

उम्मेदवार नै बन्न नपाएपछि निरीह बनेका कार्कीले भने, ‘मलाई मत दिई वडा न ७ को वडा सभापति बनाउन चाहने क्रियाशील दाजुभाइ दिदीबहिनीहरू सँग माफी माग्दछु ।’

वडा सभापतिमा शङ्कर चौधरी र कार्की बिचमा प्रतिस्पर्धा हुने भएको थियो । दुवै नेताहरूले अडान नछाडेपछि नगर समितिले हस्तक्षेप गर्दै नरबहादुर राईलाई सभापति बनाएको छ । ५ गते बिहान भेला बोलाएर सभापतिमा इच्छा नै नराखेका राईलाई सर्वसम्मत घोषणा गरिएको हो । चौधरी र कार्की भने क्षेत्रीय प्रतिनिधिको रूपमा समेटिएका छन् ।