धरान : धरानका सडक छेउछाउ आश्रय विहीन जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको उद्धार गरी परिवार खोजी पुनर्मिलन गराई सडक मानव मुक्त बनाउन उपमहानगरपालिकाले छलफल सुरु गरेको छ ।
सडकमै आश्रित उनीहरूको दीर्घकालीन व्यवस्थापन गरी ‘सडक मानवमुक्त धरान’ बनाउन मङ्गलवार कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाको उपस्थितिमा छलफल भएको हो । उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले ‘सडक मानवमुक्त धरान’ घोषणाका लागि स्थानीय निर्देशक समिति गठन गरेको छ ।
सोही समितिको बैठकमा सडक तथा आश्रय विहीन व्यक्तिको उद्धारपछि परिवार खोजी गरी घर फर्काउने,बालबालिकालाई पुनः विद्यालय पठाउने, परिवार पत्ता नलागेका व्यक्तिलाई मानव सेवा आश्रममा व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो ।
कावा प्रमुख बेघाका अनुसार बैठकमा समितिले उद्धार गरिएका केही बालबालिका तथा व्यक्तिको परिवार पत्ता लगाई घर फर्काइएको जानकारी दिएको छ । बालबालिकालाई पुनः विद्यालय पठाउने व्यवस्था समेत मिलाइएको छ । 
परिवार पत्ता नलागेका व्यक्तिलाई मानव सेवा आश्रमको प्रत्यक्ष हेरचाहमा राखी आवश्यक स्वास्थ्य उपचार तथा दीर्घकालीन व्यवस्थापन गर्ने विषयमा छलफल भएको उनले बताए । समितिले सडकमा आश्रित व्यक्तिको उद्धारपछि उनीहरूको अवस्था पहिचान गरी परिवारसँग पुनर्मिलन गराउने र पुनर्मिलनपछि पनि उनीहरूको अवस्थाबारे फलो अप गर्ने रणनीति बनाएको छ ।
विभिन्न माध्यमबाट खोजी गर्दा समेत परिवार पत्ता नलागेका व्यक्तिको हकमा आश्रममै राखेर आवश्यक हेरचाह तथा उपचारको व्यवस्था गरिने निर्णय गरिएको छ । बैठकले निर्देशक समिति तथा कार्यसमितिको भूमिका,बजेट व्यवस्थापन, उद्धार तथा पुनः स्थापनाको प्रक्रिया र आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गरेको छ ।