धरान : धरानबाट प्रसारण हुने विजयपुर एफएम ९८.८ मेघाहर्ज १२ वर्ष पुरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिक उत्सवको अवसरमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार विजयपुर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित एफएमको १३ औँ वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत सङ्कलन भएको छ ।

एफएमकी प्रबन्ध निर्देशक तथा अध्यक्ष हिमाल राईले गत वर्षदेखि वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताइन् । उनले विजयपुर एफएम १३ औँ वर्षमा प्रवेश भएको बताउँदै रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत सङ्कलन भएको जानकारी दिइन् ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विजयपुर एफएमले धरानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । मेयर राईले कोरोना महामारीका कारण प्रदेश एकका विभिन्न अस्पतालहरूमा रगतको अभाव भइरहेको बेला एफएमले रक्तदान कार्यक्रम गरेर आफ्नो वार्षिक उत्सव मनाउनु उदाहरणीय कार्य गरेको बताए ।

रक्तदान कार्यक्रममा विजयपुर एफएममा कार्यरत दुई जना कर्मचारीलाई नगदसहित कदर पत्रले सम्मान गरिएको छ ।

एफएमका समाचार शाखा प्रमुख भैरव आङ्ला र कार्यक्रम प्रस्तोता एवं विज्ञापन शाखामा कार्यरत अम्बिका दवाडी ढकाललाई जनही नगद ५ हजार रुपैयाँ सहित कदर पत्रले सम्मान गरिएको हो । उनीहरूलाई मेयर तिलक राई र एफएमकी प्रबन्ध निर्देशक एवं अध्यक्ष हिमाल राईले नगद सहित कदर पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भिषण राई, किरात राई याक्खा सुनसरीका अध्यक्ष बलराम राई लगायतले शुभकामना दिएका थिए ।

VFM-1 VFM-3