धरान : परिवर्तनका लागि सामाजिक अभियान धरानले ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर सामाजिक स्वास्थ्य क्लिनिक -२ सम्पन्न गरेको छ ।

७० वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरूको लागि आयोजना गरिएको सो स्वास्थ्य क्लिनिक पाक्षिक रूपमा आयोजना हुने गरेको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा स्वास्थ्य जाँच हुने सो क्लिनिकमा नयाँ र पुराना बिरामी गरी ३० जनाले स्वास्थ्य जाँच गराएका थिए ।

७० वर्ष भन्दा माथिका बुवाआमाहरुलाई सजिलो तथा स्वास्थ्य सचेतना होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । धरान-१ स्थित धरान मोडल कलेजमा आयोजित उक्त कार्यक्रममा वर्षा अग्रवाल, दीपेन्द्र निरौला, भोजराज श्रेष्ठ, मोहन श्रेष्ठ, वासुदेव बराल, त्रिभुवन बराल, जेनिश शाक्य लगायतका अभियानकर्मीको उपस्थिति रहेको थियो।

बुवालाई जाँच गराउन ल्याएको र यहाँ सहजता पूर्वक जाँच गराउन पाउँदा साहै खुसी लागेको धरान-१२ निवासी अलङ्कार पलिखेले बताए । त्यसै गरी आफ्नो आमालाई जाँच गराउन ल्याएका धरान-२ निवासी प्रमेश श्रेष्ठले पनि आयोजक प्रति आभार प्रकट गरे।