चतरा : भूमि आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्वासी र कोसी पीडितलाई न्याय दिलाएरै छाड्ने बताएका छन् । सुनसरीको वराहक्षेत्रमा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वराहक्षेत्रका कोसी पीडित र सुकुम्वासीलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

२०२२ सालमा कोसी कटानबाट विस्थापित भएर सुकुम्वासी जीवन बिताई रहेका परिवार र अव्यवस्थित रूपमा बसोबास गरिरहेका परिवारलाई धनी पुर्जा दिलाउन पहल गर्ने उद्देश्यले नेपाली काँग्रेस नगर समितिले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका प्रवक्ता, सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र सुकुम्वासी समस्या हल गर्न नेपाल सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई एउटै मञ्चमा राखेर नेपाली वराहक्षेत्र काँग्रेसका नेताहरूले आग्रह गरेका छन् ।

सोमवार नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिले देबिघाट स्थित बसन्तऋतृ माविको खेलमैदानमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति रमेश कार्कीले नेकपा एमालेले नेतृत्व गरेको स्थानीय सरकारले ४ वर्ष सम्म सुकुम्वासी र कोसी पीडितको पक्षमा कुनै काम नगरेको आरोप लगाए ।

उनले स्थानीय सरकारले ४ वर्षसम्म कुर्न काम नगरेको र अब चुनाव आउन लागेपछि अनि लालपुर्जा दिने झुटो प्रलोभन बाँड्न थालेको बताए । 'गरिब जनताको भावनासँग स्थानीय सरकारले राजनीति गरेको छ, नगर बासीहरू सचेत रहनु होला' उनले भने ।

तत्कालीन भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीलाई वराहक्षेत्रमा ल्याउन नसकेको र कुनै पनि काम नगरेको भन्दै सभापति कार्कीले काँग्रेस सरकारले गठन गरेको भूमि आयोगका अध्यक्ष केशव निरौलालाई ल्याएर काँग्रेसले कोसी पीडितलाई मुआब्जा तथा सुकुम्वासी लालपुर्जा दिन दिलाउने कार्यमा लागि परेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि भूमि आयोगका अध्यक्ष केशव निरौलाले ऐलानी जमिनमा १० वर्षदेखि बसोबास गरिरहेका परिवारलाई प्रक्रिया पुर्‍याएर धनिपुर्जा दिन आयोग लागि पर्ने बताए । हाल ऐलानी जमिनमा बसोबास गरिरहेका सुकुम्वासी तथा बाढी पीडितलाई कसैले हटाउन नसक्ने बताउँदै उनले सरकारले चाह्यो भने लालपुर्जा दिन कुनै समस्या नभएको बताए।

उनले स्थानीय तहको निर्वाचन अगाडि लालपुर्जा दिन आयोग लागि परेको समेत बताए । आफूलाई काँग्रेस सरकारको आयोगको जिम्मेवारी दिएको भन्दै काँग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा सुकुम्वासी समस्या हल गर्न गम्भीरता पूर्वक लागि परेको बताए । उनले भने 'मेरो कार्यकालमा वराहक्षेत्रका सुकुम्वासी र बाढी पीडितलाई न्याय दिलाएरै छाड्छु।'

gkarki

कार्यक्रमका प्रमुख अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भूमिहीनको समस्या जटिल भएकाले उक्त समस्या समाधान गर्न आफूले भूमि आयोगका अध्यक्षलाई पनि साथमा लिएर आएको बताए ।

अहिलेको गठबन्धन सरकार नेपाली जनताको पक्षमा रहेको भन्दै कार्कीले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार लागि परेको बताए। यो सरकार सबै नेपालीलाई धनी बनाउन चाहन्छ। नेपालीहरूलाई समृद्धिको बाटोमा लैजान छ । नेपाललाई विकासको गतिमा अगाडि बढाउन चाहन्छ। यसकालागि बोलेर, दस्ताबेजमा राखेर मात्र नहुने भएकाले व्यवहारमा र कार्यक्रम गरेर देखाउन सरकार लागि परेको उनले बताए। विकास बिनाको राजनीति केवल खोक्रो भाषण मात्र भएकाले आफू राजनीति र विकाससँगै लैजान चाहेको बताए।

ओली नेतृत्वको एमाले सरकारले सरकारको शक्ति दुरुपयोग गरेको भन्दै सबैको यो सरकारले प्रजातन्त्र, लोकतन्त्र, संविधान, जनताको आत्मसम्मानका लागि काम गर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई कोही पनि मान्छे आस्थाका आधारमा अन्यायमा नपार्न निर्देशनसमेत दिएका थिए।