धरान : धरानमा तीन पाने रक्सी (कोदोको) र धराने कालो बङ्गुरको प्रवर्द्धन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गर्ने निर्णय भएको छ ।

सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल सहितको टोलीले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका विज्ञहरूसँग बसेको छलफलमा नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ माथि गरेको अध्ययनले निर्देशिका बमोजिम अवधारणा पत्र तयार गर्ने सहमति भएको हो ।

अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई दिइएको छ । उक्त अवधारणा पत्र यही माघ २८ गतेभित्र पेस गरिसक्नुपर्ने बताइएको छ । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १ करोड ५० लाख र उपमहानगरपालिकाको ७० लाखको लागतमा प्रोजेक्ट अगाडी बढ्नेछ । केन्द्रीय प्रविधि क्याम्पसलाई साझेदार संस्थाका रूपमा लिई धरान उपमहानगरपालिकाले कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

छलफलमा मेयर राईले तीनपाने रक्सी (कोदोको) र धराने कालो बङ्गुरको प्रवर्द्धन सँगसँगै धरानको वडा नं. ४ र वडा नं. २० मा होम स्टेको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए । पछिल्लो समय मानिसहरूले कोदो खेती गर्न छाडिसकेको बताउँदै मेयर राईले भने, ‘तीन पाने रक्सी र धराने कालो बङ्गुरको प्रवर्द्धनले कृषकहरूमा कोदो खेती गर्न पनि उत्साहित गर्नेछ ।

’मेयर राईका अनुसार परम्परागत रूपमा उत्पादन गरिरहेका स्थानीयबासीलाई तीन पाने रक्सीको बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकियो भने आत्मनिर्भर बनाउन सकिनेछ । साथै, बङ्गुर पालकहरूसँग सहकार्य गरेर धराने कालो बङ्गुरको प्रवर्द्धन गर्न सकिने मेयर राईको भनाई थियो ।

केन्द्रीय प्रविधि क्याम्पसका विज्ञहरूले तीनपाने रक्सी (कोदोको) अनुसन्धान हुन बाँकी रहेको बताउँदै यसलाई प्रवर्द्धन गर्न मापदण्ड र कानुन निर्माणको विषयमा उपमहानगरपालिकाले भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । यस्तै, उनीहरूले धराने कालो बङ्गुरको मासुलाई ग्रेडिङ गरेर देश तथा विदेशमा निर्यात गर्न सकिने बताएका थिए ।

गत वर्ष केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्राध्यापक वसन्त कुमार राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा सदस्यहरू केन्द्रीय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फुलमाया तामाङ, सदर राई, मोहन तिगेला र सूचना अधिकृत खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् ।