धरान : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरानमा नेकपा एमालेका प्रभावशाली एउटा समूह नेकपा समाजवादी एकीकृतमा प्रवेश गरेका छन् ।  

यस भन्दा अघि देखिनै नेकपा एमालेमा दुई खेमामा विवाद देखिएको र नगर अधिवेशनै दुई अलग अलग स्थानमा भएका थिए । तर पछिल्लो समय नेकपा एमालेमा समस्या समाधान भएको बताइरहँदा शुक्रवार धरानमा नेकपा एमालेका एउटा समूह नेकपा एकीकृत समाजवादी धरान उपमहानगर कमिटीको घोषणा गरेर अलग्गिएको छ । 

नेकपा एमालेका पूर्व जिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी धरान उपमहानगर कमिटीको घोषणा भएको हो । 

सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा कार्यक्रम आयोजना गरी राईको अध्यक्षतामा ७१ सदस्यीय कमिटी घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा शुक्रलाल लिम्बु र पदमा सुब्बा रहेका छन् । त्यसै गरी सचिवमा खेम दाहाल रहेका छन् । त्यसै गरी उपसचिवमा अमृता रामदाम र स्वर्णिमहाङ फोम्बो रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका नेता धर्मराज निरौलाले एमालेमा धेरै जना अझै पनि पर्ख र हेरको स्थितिमा रहेको भन्दै अब उक्त पार्टीमा कल्याण नहुने भएकोले ढिलो छिटो नेकपा एसको ब्यानरमा अरू पनि एमालेका साथीहरू आउने दाबी गरे । 

धरानमा नेकपा एमालेमा समस्या समाधान भएको भनिरहँदा यो कमिटीको घोषणाले धरानमा एमालेमा चुनौती देखिएको छ । नगर अधिवेशनको क्रममा अलग अलग अधिवेशन घोषणा गरेर अलग्गै समूह गठन गरिएको र निर्वाचित पदाधिकारीहरूलाई समेटेर एमाले एक ढिक्का भएको दाबी गरिरहँदा यो घोषणाले धरानमा नेकपा एमालेमा फुट देखिएको छ । स्रोतका अनुसार नेकपा एमालेका अरू पनि नेताहरू नेकपा समाजवादी एकीकृतमा केही समय पछि खुल्ने तयारी भइरहेको बताइएको छ ।