झापा : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्न सुझाव दिएका छन् । 

अहिलेसम्म प्रदेश १ ले आफ्नो प्रदेशको नामकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै एमाले अध्यक्ष ओलीले आश्चर्य समेत व्यक्त गरे । 

‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरू कुनै सभ्यता नभएको र साझा पहिचान झल्काउने यही नाम नै उपयुक्त भएको ओलीको तर्क थियो । अध्यक्ष ओलीले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गरे । किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने उनको तर्क थियो । 

आज प्रेस चौतारी नेपाल प्रदेश एकको प्रथम अधिवेशनलाई झापाको बिर्तामोडमा सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । अर्को प्रसङ्गमा एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धन मध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको ओलीको दाबी छ । 

प्रेस चौतारीको कार्यक्रममा सहभागी हुनु पहिला एमाले अध्यक्ष ओलीले झापामा रहेको सुखानी स्मृति पार्कमा निर्मित झापा विद्रोहका योद्धाहरूको सालिकमा माल्यार्पण गरेका थिए । ५० औ सुखानी स्मृति दिवसको अवसरमा ओलीले झापा आन्दोलनका सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सालिकमा ओलीले माल्यार्पण गरेका थिए ।