धरान: विभिन्न कालखण्डमा धनकुटाबाट धरान स्थानान्तरण भएर बसोबास गर्दै आएका धनकुटलीहरुको संस्थाको रूपमा धनकुटा धरान एकता समाज स्थापना गरिएको छ । धरान धनकुटाको सामाजिक, सांस्कृतिक, विकासका क्षेत्रमा मानवीय सेवाका कार्यहरू गर्न समाज गठन गरिएको हो ।
समाजको तदर्थ समितिका अध्यक्षमा पूर्व बैंकर गङ्गाप्रसाद रेग्मी रहेका छन् । एघार सदस्यीय कार्यसमितिमा उपाध्यक्ष जयप्रसाद निरौला, सचिव राजकुमार थापा, सहसचिव कल्पना रोहिला ढकाल, कोषाध्यक्ष वासुदेव भण्डारी रहेका छन् । सदस्यहरूमा ज्ञानु थापा, विनोद घिमिरे, नवीन रेग्मी, रामबहादुर थापा, श्याम कार्की निलकुमारी गिरी थापा छन् ।
कार्यसमितिलाई सल्लाह दिन अग्रजहरूको ६ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारहरूमा लक्ष्मणबहादुर थापा, दिपबहादुर कार्की, श्यामा रेग्मी हिरण्यप्रसाद घिमिरे, वीरेन्द्रसिंह थाप, हर्ष सुब्बा छन् । समाज स्थापना गर्न शनिवार समाजसेवी वीरेन्द्रसिंह थापाको निवासमा भएको भेलाले छलफल गरेपछि कार्यसमितिको चयन गरिएको हो ।
छलफलमा अग्रज महिला नेतृ श्यामा रेग्मीले नयाँ पुस्तालाई पुख्यौंली थातथलो, त्यहाँका सांस्कृतिक परम्परामा ज्ञातव्य बनाउन संस्थागत पहलका लागि समाज उपयोगी हुने विश्वास व्यक्त गरिन् । लक्ष्मणबहादुर थापाले संस्थालाई सक्रिय रूपमा निरन्तरता दिनुपर्ने कुरमा जोड दिए ।
वीरेन्द्र सिंह थापाले व्यवसायीक लगायत विभिन्न कारण एकअर्का ठाउँमा स्थानान्तर भएर बसोबास गरेकाहरू बिच सम्पर्क, सामाजिक सेवा कार्य गर्न स्थापना भएका सम्पर्क समिति, मञ्च उपयोगी भएकोले धनकुटा धरान एकता समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
राजकुमार थापाले धनकुटाबाट धरान आएर बसोबास गर्दै आएका नागरिकहरू बिच आपसी सम्पर्क, सामाजिक कार्य गर्न एकै ठाउँमा भेला हुने माध्यमको रूपमा संस्थाले भूमिका खेल्ने बताए । समाज गठनको पहल थापाले गरेका हुन् । उनका अनुसार तदर्थ समितिले संस्थाको उद्देश्य निर्धारण, विधान बनाएर विधिवत् रूपमा काम अघि बढाउने छ ।