धरान : स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुकुम्वासीहरूले एउटा हातमा लालपुर्जा अर्को हातले भोट भन्दै धरानमा बृहत् प्रदर्शन गरेका छन् । 

नेपाल बसोबास बस्ती संरक्षण समाजले सुरु गरेको राष्ट्रव्यापी कार्यक्रम निर्वाचन अघि नै  लालपुर्जा प्राप्तिको महाअभियान अन्तर्गत आज धरानमा पनि सुकुम्वासीहरूको जनप्रदर्शन भएको हो । राजनीतिक दलहरूले हरेक पटक हुने निर्वाचनमा सुकुम्वासीलाई झुटो आश्वासन देखाएर सुकुम्वासीकै भोटले जितेपछि सुकुम्वासीको समस्यालाई कहिल्यै फर्केर नहेर्ने गरेकोले यसपटक  सुकुम्वासीले पहिले लालपुर्जा अनि मात्रै भोट अभियान सुरु गरेको हो ।

धरानको छाताचौक स्थित पुरानो अस्पताल परिसरबाट सुरु भएको सुकुम्वासीहरूको बृहत् र्‍यालीले धरानको भानुचौक पुगेर धरान उपमहानगरपालिकाको परिसरमा आएर सभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्दै नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले अबको चुनावमा एक हातमा लालपुर्जा बोकेर अर्को हातले भोट हाल्ने बताए । सुकुम्वासीहरूको समस्या चाडै र फास्ट ट्र्याक मार्फत चुनाव अगाडी नै समाधान गर्नुपर्ने बताउँदै अव सुकुम्वासीले चुनावमा आफ्नो भोटसँग लालपुर्जा साट्नुपर्ने बताए । 

हजारौँ सुकुम्वासी सहभागी कार्यक्रममा १० बुँदे धरान घोषणा पत्र समेत जारी गरिएको छ । जारी गरिएको प्रति धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई बुझाइएको छ । कार्यक्रममा मेयर तिलक राईले सुकुम्वासीको समस्यालाई सम्बोधन गर्न सकेसम्म पहल गर्ने बताए ।

नेपाल बसोबास बस्ती संरक्षण समाज सुनसरीको संयोजन र नेपाल बसोबास बस्ती संरक्षण समाज धरान उपमहानगरको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा १० बुँदे धरान घोषणा पत्र जारी गरिएको छ । 

धरान घोषणा पत्रमा २००७ साल देखि सुरु भएको न्याय समानता र स्वतन्त्रताको आन्दोलनले ७० वर्ष पार गरिसकेको अवस्थामा देशभरका ७० लाख सुकुम्वासी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगार सहितको भू स्वामित्व लालपुर्जाको अधिकार सुनिश्चित हुन नसकेको उल्लेख छ ।

जसका कारण हजुरबुबाले सुरु गरेको लालपुर्जा सहितको समानताको आन्दोलन नातिको पालासम्म नसकेको भन्दै राणा, पञ्चायत र राजा ढालेर हाम्रो वर्ग समुदायको मुद्दा बोकेर स्थापना भएको वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा पनि सुकुम्वासीले लालपुर्जा प्राप्त गर्न नसक्नु गणतान्त्रिक व्यवस्था माथि नै प्रश्न उब्जिएको उल्लेख छ । 

बर्षैं देखि आर्थिक सामाजिक राजनीतिक एवं अन्य कारणबाट सुकुम्वासी बन्न पुगेका ८० वर्षका बा–आमाको लालपुर्जा हेरेर मर्ने अन्तिम इच्छा पूरा हुन सकेन । आफैले लडेर ल्याएको व्यवस्थामा आफ्नो अधिकार सुनिश्चित हुने विश्वासमा रहेका धरानभित्र बसोबास गरेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिनुको साटो विभिन्न वाहानामा आफैले भोट हालेर विजयको माला पहिराएको सरकारले उठीबासको सूचना गरेर सन्त्रास फैलाएको प्रति धरान भित्र बसोबास गर्ने सुकुम्वासीहरूको उच्च सतर्कता सहित गम्भीर ध्यानाकर्षण भई समग्र राजनीति र नेतृत्व माथि नै वितृष्णाको ज्वारभाटा पैदा भएको घोषणा पत्रमा उल्लेख छ । 

राज्य व्यवस्था परिवर्तनका हरेक सङ्घर्षमा बलिदान सम्मको योगदान पुर्याउदै  अधिकारको आशामा हरेक पटक भोट हालेका आम भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई लालपुर्जा दिने बहानामा सरकारले पटक–पटक करोडौँ खर्च गरी आयोग बनायो तर पनि सुकुम्वासीलाई लालपुर्जा दिन सकेन । तसर्थ फास्ट ट्र्याकबाट लालपुर्जा वितरणको माग राखी जनतालाई ढाँटेर राजनीति गर्ने गलत प्रथाको अन्त्यका लागि नेपाल बसोबासले सुरु गरेको राष्ट्रव्यापी कार्यक्रम समानताको स्वतन्त्र महाअभियान,लय लालपुर्जा लय भोट सुनसरीमा अगाडि बढाइएको जनाइएको छ । 

Sukumbasi-3Sukumbasi-2